खुल्यो तातोपानी नाका खुल्यो

earthquakeसाउन २१ । काठमाडौँ, वैशाख १२ को भूकम्पसँगै खसेको पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग चिनियाँ सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले आवागमनका निम्ति खुला गरेको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसर पारेर गत शनिबारदेखि अवरुद्ध बाटो खोल्न संयुक्त रुपमा थालिएको काम बुधबार पूरा भएको हो ।

पाँच दिनको अथक प्रयासपछि दुवै मुलुकका सुरक्षाकर्मीले सवारी साधनका निम्ति औपचारिक रुपमा उक्त सडक खुला गरेकोे अवसरमा आज राजधानीमा एक कार्यक्रम आयोजना गरियो ।

यहाँस्थित चिनियाँ राजदूतावासद्वारा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कठिन परिस्थितिका बेला चिनियाँ सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै रणनीतिक महत्वको उक्त सडक सञ्चालन भएबाट पारस्परिक व्यापार वृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले भने– “चीन हाम्रो भरपर्दो विकास साझेदार हो । उसले नेपालको विकासमा गरेको सहयोग सधैँ अविस्मरणीय रहने छ । भूकम्पपछि तत्काल उद्धार तथा मानवीय सहायतामा चीनले गरेको सहयोग उत्तिकै स्मरणीय रहेको छ ।”

नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले नेपालको चौतर्फी विकासका लागि चीनले हरसम्भव सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

भैँचालोले नेपालमा जत्तिकै चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि क्षति पुगेको जानकारी दिँदै उहाँले छिमेकीलाई आपत् परेका बेला सघाउनु आफ्नो मुलुकको कर्तव्य भएको र सोहीअनुरुप चीनले सहयोगी हातहरु नेपालमा विस्तार गरेको बताए ।

उनले अवरुद्ध सडक खुलाउन नेपाल सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे ।

चिनियाँ सशस्त्र प्रहरी बलका ‘कमान्डर’ फु लिङले नेपाल–चीन मैत्रीको प्रतीकका रुपमा रहेको मितेरी पुलसमेत सञ्चालनमा आएको जानकारी दिँदै दैनिक आठ घन्टाको निरन्तरको परिश्रमबाट अवरुद्ध ३६ किमी बाटो खुलाउन आफूहरुलाई सफलता मिलेको बताए।

यसैबीच, सोही समारोहपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले चिनियाँ सशस्त्र प्रहरी बलसँग काम गर्दा नेपाली सेना तथा नेपालका सुरक्षाकर्मीलाई उनीहरुको कार्यशैली, अनुभव र व्यावसायिक कार्यसम्पादनका मिहिन विषय जानकारी भएको बताए।

उनले नेपाल सरकारसँग राजमार्ग खोल्ने उपकरणलगायत पर्याप्त भौतिक सामग्री तत्काल उपलब्ध नभएकाले चीन सरकारसँग सहायताका निम्ति अनुरोध गरिएको स्पष्ट गरे ।

साथै, उनले वैकल्पिक मार्गका रुपमा रहेको रसुवागढी–केरुङ राजमार्ग पुनःनिर्माण गर्न पनि चीन सरकारलाई अनुरोध भएको र चाँडै नै चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

त्यसैगरी, राजदूत वुले क्षतिग्रस्त पोखरा–बागलुङ सडकको पनि चीनले मर्मतसम्भार गर्ने जानकारी दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रका भौतिक पूर्वाधार निर्माणलाई चीनले पहिलो प्राथमिकतामा राखेको बताए।

चरणबद्ध रुपमा चिनियाँ सहयोग हुने जानकारी दिँदै उनले पहिलो चरणमा सडकमा थुप्रिएका भग्नावशेष हटाइने, त्यसपछि मर्मतसम्भार गरिने र अन्त्यमा सडक स्तरोन्नतिको काम सम्पन्न गरिने बताए।

त्यस्तै, कमाण्डर फुले बर्खायामका कारण पुनः पहिरो जाने जोखिम अरनिको राजमार्गमा रहेको उल्लेख गर्दै जोखिम घटाउन नेपाली सुरक्षाकर्मीसँग भविष्यमा पनि मिलेर काम गर्ने बताए ।

सम्बन्धित शिर्षकहरु