जनकपुरधाम, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्य पक्षद्वारा आन्दोलनकारीसँग नस्लवादी क्रियाकलाप प्रदर्शन भइरहेका कारण सामाजिक विभाजन हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।
सो पार्टीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेसीलगायत सीमान्तकृत वर्गसँग वार्ता गर्ने ढोका बन्द गरिसकेको भन्दै विभाजन हुनसक्ने टिप्पणी गरेका हुन्
उनले सरकारले वार्ताका लागि एकातिर आह्वान गर्ने र अर्कातिर वार्ता गर्ने ढोका बन्द गर्नुले सरकार मधेसी जनतासँगको विभेदलाई चरमोत्कर्षमा पु¥याएको प्रष्ट भएको बताए ।
अध्यक्ष ठाकुरले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनसम्बन्धी २५ भदौ सम्मका कार्यक्रम निर्धारणक्रममा रहेको र यसपछि मोर्चाको बैठकले आगामी आन्दोलनको स्वरुप निर्धारण गर्ने बताए ।
सो अवसरमा पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले एकलौटीरुपमा विधेयक संशोधनको प्रस्ताव दर्ता गरेर एउटा समुदायको वर्चस्वको निरन्तरताका लागि देशलाई गृहयुद्धको भूमरीमा धकेल्ने तैयारी गरेको उल्लेख छ ।
विज्ञप्तिमा सारा भिन्नताको परित्याग गरी स्वायत थरुहट मधेसको ब्यानरमुनि समस्त थारु मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत सीमान्तकृत समुदायलाई वर्चस्ववादी एकलौटीवादविरुद्ध एकबद्ध भएर आफ्नो र आफ्नो सन्ततिको पहिचान, समानता, स्वायतत्ता तथा समानुपातिक प्रतिनिधित्व र सहभागिताको अधिकारका लागि सङ्घर्षमा होमिन अपिल गरिएको छ ।








