अमेरिकी राजदूत बोडी नेता नेपाल निवास किन पुगे

madhav-nepalसाउन १८ । काठमाडौँ, नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लु बोडीले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । सोमबार विहान पूर्व प्रधानमन्त्री नेपालको नीजि निवास कोटेश्वरमा भएको भेटमा उनीहरूबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, संविधान जारी हुने समय, भुकम्प पछिको पुनःनिर्माण र यसका लागि आवश्यक संरचानको निर्माण तथा नेपालले आगामी दिनमा लिने बाटोको विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा अमेरिकी राजदूतले संविधान निर्माणका समस्याहरू, त्यसमा लाग्ने समय, अन्य पार्टीहरूसँगको समझदारी जस्ता विषयमा जिज्ञाशा राखेको नेता नेपालको सचिवालयले जानकारी दिएको छ ।  साथै उनले भुकम्प पछिको पुनःनिर्माण एवम् पुनःनिर्माणका लागि आवश्यक संरचनाहरू निर्माण हुने समयसीमाका बारेमा समेत जिज्ञाशा राखेका थिए । जवाफमा नेता नेपालले जनताबाट प्राप्त सुझावहरूलाई अधिकतम रूपमा समेट्ने र अधिकतम दलहरूको सहमतिमा संविधान जारी गर्ने प्रयत्न भैरहेको कुरा उल्लेख गर्दै भुकम्प पछिको पुनःनिर्माणलाई प्रभावकारी एवम् छिटो गरी अगाडि बढाउन आफुले प्रयत्न गरिरहेको कुरा उल्लेख गरेका थिए । त्यस्तै उनले स्थानीय निकायको निर्वाचन नुहँदा उद्धार, राहत तथा पुनःनिर्माण लगायतका काममा बाधा उत्पन्न भएको कुरा उल्लेख गर्दै उक्त निर्वाचनलाई सम्पन्न गरी लोकतन्त्रको आधारधिला बलियो बनाउन आफु प्रयत्नशील रहेको कुरा बताएका थिए ।

उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूलाई थप बलियो एवम् प्रभाकारी बनाउने विषयमा समेत कुराकानी भएको छ ।  आजको भेटले नेपाल र अमेरिका बीचको सम्बन्धलाई बलियो बनाउन थप योगदान दिएको नेता नेपालले प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित शिर्षकहरु