रत्ननगर, ४ जेठ – वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन खोलिएको चितवनको मुग्लिन–नारायणगढ सडक, आयोजनाले आजदेखि पुन बन्द गरेर काम गर्न लागेको छ । आजदेखि हरेक दिन विहान १० देखि ४ बजेसम्म दिनको छ घन्टा सडक बन्द गरेर काम गर्न लागीएको छ ।
अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत मात्रै काम पूरा भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । तोकीएको समयमा निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरिएको उहाँले बताउनु भयो ।
उक्त सडकखण्डको ३४ किमी क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेका छन् । चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्छन् । वर्षाका बेलामा सास्ती पाउँदै आएका यात्रुले बेलाबेलामा सुख्खा पहिरोका कारण अझ बढी सास्ती पाउँदै आएका यहाँ छन् । अघिल्लो महिनामा मात्रै यहाँ सुख्खा पहिरो खसेर दुईजनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।
नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ ।








