साउन ११ । साउन, आज सोमबार अर्थात हरिशयनी एकादशी । हिन्दू धर्म अनुसार आजको दिन घर आँगन रहेको तुलसी मठमा विधिपूर्वक तुलसीको बिरुवा रोप्ने गरिन्छ ।
एक महिनाअघि बिजारोपण गरिएको तुलसीलाई आजकै दिन रोप्ने गरिन्छ । तुलसीलाई भगवान विष्णुको स्वरुप मान्ने गरिन्छ ।
चार महिनाको चतुर्मासपछि हरिबोधनी एकादशीको दिन तुलसीको पूजाआजा गरि बिदा गरिन्छ ।
चतुर्मासभर भगवान नारायण धर्तीमा शयन मुद्रामा रहने विश्वासका साथ तुलसीको पूजा गरिन्छ ।
हरिशयनी एकादशीबाट शयन मुद्रामा भएका नारायण भगवान हरिबोधनी एकादशीका दिन वैकुण्ठ प्रस्थान गर्ने विश्वास हिन्दू धर्माबलम्वीहरुमा छ ।
तुलसीलाई धार्मिक हिसाबले महत्वपूर्ण वनस्पतिको रुपमा लिने गरिन्छ । तुलसी धार्मिक मात्र नभई वैज्ञानिक तथा औषधीय हिसाबले पनि निकै उपयोगी वनस्पति हो ।
तुलसीले सबैभन्दा धेरै अक्सिजन प्रदान गर्ने गर्छ । अन्तिम अवस्थामा तुलसीको मठमा राख्ने गरिन्छ ।
आजै साउने महिना सोमवार पनि परेको छ । एकैदिन भगवान विष्णु र शिवजीको श्रद्धा गर्ने दिन परेकाले आज विहानैदेखि दुबै भगवानका तीर्थस्थलहरुमा तीर्थालुको घुईचो लागेको छ ।
के हो हरिशयनी एकादशी ?
हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु हरि र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ ।
वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको पंडित माधवप्रसाद सापकोटाले बताए ।
“हिन्दू समाजमा यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आजको दिनदेखि चतुर्मास व्रत सुरु हुन्छ । आज घरघरमा तुलसी रोप्ने चलन छ ।” – उनले भने ।
चतुर्मास अवधिमा तुलसीको सेवा गर्नु अति उत्तम कार्य भएको बताउँदै उनले भने– “जसका घर आँगनमा तुलसीको मोठमन्दिर राखी तुलसी रोपिन्छ त्यहाँ देवताको बास भइरहन्छ । स्वप्नमा पनि यमराजका दूत त्यस घरमा पुग्न नसक्ने र तुलसीको बोट बिरुवामा जल चढाइरहने मानिसका वंशको तीनै लोकमा कल्याण हुने तथा निःसन्तान मानिसलाई सन्तान पैदा हुने जस्ता धेरै जनविश्वास प्राचीन कालदेखि चलिआएका छन् ।”
हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाको प्रबोधनी हरिबोधनी एकादशीका दिन जागा हुनुहुने उनले बताए।
चतुर्मास अवधिमा श्रीविष्णु हरि भगवान्को पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ ।
हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
हरिशयनी एकादशीका अवसरमा आज फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।








