साउन मसान्तभित्र संविधान: प्रधानमन्त्री

Prime Minister Sushil Koirala express his opinion to the journalists after a submission of feedback on draft constitution by the Reporter's Club Nepal on Saturday at PM's Official Residence, Baluwatar, Kathmandu. Photo: Kumar Shrestha, RSS

साउन ९ । काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले साउन मसान्तभित्र संविधान जारी हुने बताएका छन् ।

संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने मागसहित रिपोर्टर्स क्लब नेपालले आज उनकै निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भने –“साउनको अन्तिमसम्म संविधान आउँछ, भएमा दुई÷चार दिन तलमाथि हुनसक्छ । संविधानमा सबै पक्ष, समुदाय, जातजाति, भाषा, संस्कृतिको प्रतिविम्ब हुन्छ ।”

प्रधानमन्त्री कोइरालाले संविधानसभा बाहिर रहेका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र मधेस केन्द्रित असन्तुष्ट दललाई समेटेर लैजाने प्रयास भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री कोइरालाले परिवर्तनका लागि लामो सङ्घर्षपछि अहिले मुलुकको सम्वृद्धिका लागि ठूलो लगानीको अवसर रहेको भन्दै यसलाई सदुपयोग गर्न दलीय बेमेल अन्त्य गरी राजनीतिक स्थायित्व कायम गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रता कुण्ठित हुनै नसक्ने र संविधानमा सोको सुनिश्चितता हुने वचन दिँदै प्रधानमन्त्री कोइरालाले प्रेसको काँधमा पनि ठूलो जिम्मेवारी आएकाले सकारात्मक भएर लाग्न आग्रह गरे ।

संविधानको मस्यौदामा जनताले दिएको राय सुझावलाई समेट्ने विषयमा सबै दल सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्रीले हिजो चार दलको बैठकमा यस विषयमा छलफल भइसकेको बताए ।

स्वतन्त्र न्यायपालिका, धार्मिक स्वतन्त्रता, प्रेसको स्वतन्त्रता, वाक तथा अभिव्यक्तिको स्वतन्त्रता, हिडडुल गर्ने स्वतन्त्रता सबैले स्वीकारेको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको विषयमा राय सुझावमा व्यापक सुझाव आएकाले त्यसमा छिट्टै निर्णय लिइने स्पष्ट पारे ।

क्लबका अध्यक्ष ऋषि धमलाले अब बन्ने संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने बताए ।

सम्बन्धित शिर्षकहरु