असार २८। भद्रपुर, प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाट नै मुलुकको राजनीतिक सङ्कट अन्त्य भई नयाँ संविधान आउने सुनिश्चित भएको बताएका छन् ।
झापाको भद्रपुर नगरपालिका–१० स्थित मेची रङ्गशाला पश्चिमपट्टिको जिल्ला विकास समिति स्वामित्वमा रहेको खाली जग्गामा निर्माण गर्न लागिएको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको आज एक समारोहबीच शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री कोइरालाले शान्ति, स्थिरता र विकासका लागि नयाँ संविधान आउने कुरामा विश्वस्त रहन आग्रह गर्दै आपसी एकता र मेलमिलापबिना मुलुक अघि बढ्न नसक्ने विचार व्यक्त गरे।
विभिन्न आदर्श र विचार भएका राजनीतिक दलहरूबीच संविधान ल्याउन देखाएको एकताले नै हामी सफलताको मार्गतर्फ बढिरहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले नयाँं संविधानले सबै वर्ग, धर्म र संस्कृतिको अधिकारलाई रक्षा गर्ने दाबी गरे।
उनले मुलुकको प्रजातान्त्रिक आन्दोलन एवम् लोकतन्त्रका हिमायती स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बन्ने यो भवनले रोजगार र विकास सिर्जना गर्ने कुरामा जोड दिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०औँ शताब्दीमा मुलुकले जन्माएको परिवर्तनकारी नेताहरूबाट नै अहिले सङ्घीय, लोकतान्त्रिक एवम् गणतन्त्रात्मक संविधान आउन लागेको बताए।
संविधान निर्माण गर्ने काम निष्कर्षमा पु¥याउन चार राजनीतिक दलले देखाएको एकता, सहकार्य र प्रतिबद्धताले मुलुकमा राजनीतिक दलप्रति जनताको विश्वास बढेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले नयाँ संविधानले शान्ति र लोकतन्त्र स्थापना गरी सबै किसिमको विभेद् र असमानतालाई अन्त्य गर्ने दाबी गरे।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई परिवर्तन गर्न बाह्र बुँदे सहमतिदेखि अहिलेसम्म भएका सहमतिहरू सामान्य नभएको बताए ।
शान्ति, संविधान र समृद्ध नेपाल निर्माण गर्ने स्व गिरिजाप्रसाद कोइरालाकोसङ्कल्प पूरा गर्न अब हाम्रो काँधमा जिम्मेवारी आएको छ भन्दै उनले नयाँ संविधान सबैले अपनत्व ग्रहण गर्ने किसिमको हुने स्पष्ट पारे ।
अध्यक्ष दाहालले नेपाली राजनीतिमा परेको गाँठो फुकाउन प्रमुख राजनीतिक दलले देखाएको अग्रसरताले आम नागरिकलाई संविधान आउने कुरामा आश्वस्त बनाएको पनि दाबी गरे।
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रजातन्त्र र लोकतन्त्रका लागि लामो सङ्घर्ष गर्नुभएका स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बन्न लागेको यो भवनले झापाको गरिमा बढाएको चर्चा गरे ।
उनले मुलुकको राजनीतिक अस्थिरता र सङ्कटलाई अन्त्य गर्न चार राजनीतिक दलले देखाएको अग्रसरतालाई सराहनीय मान्दै जनताको माझमा छलफलका निम्ति आएको संविधानको मस्यौदालाई अझ बढी परिस्कृत गर्न सके जनताले बढीभन्दा बढी अधिकार पाउने विश्वास व्यक्त गरे।
उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपाली जनताको हक, हित र अधिकारका लागि नयाँ संविधान लचिलो र गतिशील हुने बताए ।
उनले नयाँ संविधान समयको मागअनुसार आउने भएकाले कसैले पनि शङ्का गर्न नहुने भन्दै हरेक आन्दोलनमा एकता देखाउने राजनीतिक दलहरूले संविधानका निम्ति पनि देखाएको एकता स्वागतयोग्य छ भने।
अध्यक्षताको आसनबाट स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले कुल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा निर्माण हुने सो सभागृह अत्याधुनिक एवम् अन्तर्राष्ट्रियस्तर हुने जानकारी दिए । दुई वर्षभित्र निर्माण कार्य पूरा गर्न प्रेरा–शाहा जेवी निर्माण कम्पनीले ठेक्का लिएको सो अवसरमा जानकारी दिइयो ।
उनले नवनिर्माण हुने भवनको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहने र पहिलो तलामा व्यावसायिक उद्देश्यका २७ वटा कोठा, दोस्रो तलामा दुई वा तीनवटा बैंक अट्ने कोठा र तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्ने वातानुकूलित हल बन्ने जानकारी दिए ।
सो कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमाले प्रमुख सचेत अग्निप्रसाद खरेल र प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले पनि बोलेका थिए।








