असार १८ । काठमाडौँ, संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरले अब मुलुकले छिट्टै संविधान पाउने बताएकी छिन्।
नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट तथा महिला अधिकारकर्मीद्वारा शुक्रबार आयोजित अन्तक्रियामा उपाध्यक्ष घर्तीमगरले दलहरुबीच भएका विभिन्न छलफल तथा लामो प्रयासपछि आएको प्रारम्भिक मस्यौदाले संविधान निर्माणको गतिरोधलाई अन्त्य गरेको बताइन् ।
उनले महिलालाई सम्पत्तिमाथि अधिकार कायम हुनुपर्नेमा जोड दिँदै उनीहरु पुरुषसँग प्रतिस्पर्धा गरी अहिले अघि बढ्न सक्ने अवस्था नरहेकाले अझै राज्यका विभिन्न निकायमा संरक्षणको आवश्यकता छ भनिन्।
वरिष्ठ अधिवक्ता सपना मल्लले राजनीतिक दल तथा अन्य निकायमा समानुपातिक समावेशी सुनिश्चित गरिनुपर्नेमा जोड दिँदै संविधानको मस्यौदालाई पूर्णता दिने र अबको हरेक निर्णय प्रक्रियामा संविधानसभाले महिला सहभागिता सुनिश्चित गर्नुपर्ने विचार व्यक्त गरिन् ।
नेपाली काँग्रेसका नेत्रीहरु निर्मला क्षेत्री, नानु बाँस्तोला, नेकपा एमालेका नेता थममाया थापाले महिला अधिकार स्थापित गर्न पार्टीका भगिनी संस्थालाई बलियो बनाउनपर्ने बताउँदै प्रदेशसभामा ४० प्रतिशत तथा स्थानीय निकायमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए ।
एनेकपा माओवादी पोलिटब्युरो सदस्य कमला रोका, सोही पार्टीका पूर्व सभासद् विमला केसी, राप्रपा नेपाल महिला विभाग प्रमुख कुन्ति शाही, राप्रपाका नेता रोशन कार्कीलगायतले राष्ट्रिय सत्ताका प्रमुख पदमा आलोपालो हुनुपर्नेमा जोड दिँदै संविधान लैङ्गिकमैत्री हुनुपर्ने विचार व्यक्त गरिन् ।







