मैत्रीपूर्ण क्रिकेटमा नेपाललाई हराउदै अस्ट्रेलिया बिजयी

चैत २९ ।काठमाडौँ, नेपाल र अस्ट्रेलियाबीच आज भएको मैत्रीपूर्ण क्रिकेट खेलमा (रातो टोली) अर्थात अस्ट्रेलियन टिमले ब्लू (निलो टोली)अर्थात नेपाललाई १ रनले हराएको छ ।अस्ट्रेलियाका क्रिकेट खेलाडी फिलिप ह्युजको सम्झनामा कीर्तिपुरस्थित त्रिवि मैदानमा दुई देशबीच खेलिएको खेलमा टस हारेर व्याटिङ गरेको रातोले निर्धारित ३१.३ ओभरमा पुरै ओभर खेल्दै नौ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । जवाफी व्याटिङमा आएको निलोले पुरै ओभर खेल्दै आठ विकेटको क्षतिमा १६२ रन मात्र बनाएपछि एक रनले पराजित भयो ।
रातोका लागि शरद भेषवाकरले ५२, पृथु वासकोटाले १७, रायन कार्टर्सले १६, परेश लोहनी र सुवास खकुरेलले १५|१५, टिम एन्डर्सनले १३ तथा म्याथ्यु इलियटले १२ रनको योगदान दिएका थिए भने वसन्त रेग्मी र म्याथ्युले तीन|तीन तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।
त्यस्तै, निलोका महेश क्षेत्रीले ५८, विनोद दासले ४१ नरेश बुढाएरले २७ तथा पारस खड्काले २० रन बनाए भने करण केसी, सन्जम रेग्मी र रामनरेश गिरीले दुई÷दुई तथा पारस र भुवन कार्कीले एक|एक विकेट लिएका थिए ।
खेलको विजेता रातो टोलीले फिलिप ह्युजको फोटो अङ्ति ट्रर्फी प्राप्त गरेको छ भने खेलका म्यान अफ द म्याच रातोका म्याथ्यु हुँदा सोही टोलीका शरद उत्कृष्ट ब्याट्सम्यान र वसन्त बलर घोषित भए ।
सत्र वर्ष नेपाली टोलीबाट खेलेर आजै सन्यास लिएका पूर्व राष्ट्रिय टोलीका कप्तान विनोद दासलाई डिस होमको तर्फबाट विशेष पुरस्कार स्वरुप रु ६३ हजार प्रदान गरियो ।
गत नोभेम्बरमा घरेलु लिग खेले क्रममा बलले लागेर मृत्यु भएका ह्युजको सम्झनामा खेलिएको उक्त खेलमा दुई टोलीलाई निलो र रातो नामकरण गरिएको थियो । निलो टोलीको कप्तानी नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले गरे भने रातोको कप्तान अष्ट्रेलियायी क्रिकेटर रायन कार्टर्स थिए ।
निलो टोलीमा कप्तान विनोदसँगै राष्ट्रिय टोलीका कप्तान पारस खड्का, अनिल मण्डल, विनोद भण्डारी, शक्ति गौचन, प्रदीप ऐरी, करण केसी, नरेश बुढाएर, अभिनाश कर्ण, भुवन कार्की, महेश क्षेत्री, अमृत भट्टराई, राहुल विक, अमित श्रेष्ठ र रामनरेश गिरी थिए ।
त्यस्तै, रातो टोलीमा अष्ट्रेलियाका पूर्व क्रिकेटरहरू टिम एन्डरसन, म्याथु इलियट र चार्ली बुर्के पनि थिए् । अन्य नेपाली खेलाडीमा शरद भेसवाकर, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, पृथु बासकोटा, परेश लोहनी, सिद्धान्त लोहनी, सोमपाल कामी, राजेश पुलामी, राजवीर सिंह, प्रज्वल शाही र आरिफ शेखले रातो टोलीबाट खेलका थिए ।

सम्बन्धित शिर्षकहरु