फोहोर व्यवस्थापनको लागि ओखरपौवामा प्रहरी युनिट स्थापना गरिने

काठमाडौँ,काठमाण्डौमा अस्तव्यस्त रुपले थुप्रिएको फोहोर व्यवस्थापनको लागि सरकारले नुवाकोटको ओखरपौवामा सशस्त्र प्रहरी बलको एउटा युनिट स्थापना गर्ने भएको छ । काठमाडौँ उपत्यकाको फोहोरमैला ४८ घण्टाभित्र सफा गर्नका लागि मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आवश्यक डोजरलगायत उपकरण उपलब्ध गराउने जिम्मा सहरी विकास तथा भौतिक योजना मन्त्रालयलाई र आवश्यक व्यवस्था मिलाउन गृहमन्त्रालयलाई जिम्मा दिइएको छ ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बैठकपछि सञ्चारकर्मीलाई यी सबै कार्यको समन्वय गर्ने जिम्मा मुख्य सचिवलाई दिइएको जानकारी पनि दिनुभयो ।उहाले बैठकले सुदूरपश्चिम विकास क्षेत्र आयोग र कर्णाली क्षेत्र विकास आयोग गठन तथा कार्यसञ्चालन आदेश २०६९ को पहिलो संशोधन पारित गरेको जानकारी दिनु भयो । साथै, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले गठन गरेको प्रारम्भिक वार्ता उपसमितिले संविधानसभा बाहिर रहेका विभिन्न राजनीतिक दल, सरोकार समूह तथा सशस्त्र समूहसित गरेका सहमति तथा सम्झौता कार्यान्वयनबारे रायसुझाव दिन गठित कार्यदल २०७१ को कार्यावधि समाप्त हुने मिति फागुन ३० गतेबाट थप ४५ दिन थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सम्बन्धित शिर्षकहरु