भदौ १३,म्याग्दी । मुस्ताङको बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई सोही गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष तेन्जिङ गुरुङले मादकपदार्थ सेवन गरी कुटपिट गरेका छन् ।
मादकपदार्थ सेवन गरेका वडाध्यक्ष गुरुङले सोमबार दिउँसो उपप्रमुखको कार्यकक्षमा गइ उपप्रमुखलाई हातपात गरी कुटपिट गरेका मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्काले जानकारी दिए ।
आफूलाई आफ्नै कार्यकक्षमा कुटपिट गरेपछि प्रहरीमा उजुरी दिन आएकी उपप्रमुख गुरुङलाई वडाध्यक्ष गुरुङका बुबा नोर्बु गुरुङले प्रहरी कार्यालयभित्रैसमेत कुटपिट गरेको नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले बताए । नेर्बु गुरुङ नेपाली कांग्रेस मुस्ताङका कार्यबाहक अध्यक्षसमेत हुन् ।








