माघ १६ । कास्की,नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान सभामा सहमतिको प्रयासको अर्ति दिँदै आएका कूटनीतिक निकायका अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्नु भएको छ । काङ्रेस संस्थापक नेता पुरुष गणेशमान शतवार्षिकी अवसरमा शुक्रबार बिहान पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो,सबैले उपदेश दिन्छन्, सहमतिबाटै सबै कुराको छिनोफानो हुने भए संयुक्त राष्ट्र सङ्घमा किन सहमतिबाट निर्णय हुँदैन ? उहाँको थप प्रश्न थियो,किन त्यहाँ भिटो प्रयोग हुन्छ, सहमतिको कुरा गर्नेहरुको देशमा सहमतिले सरकार चलेको छ ? ।”आफ्नो देशमा बहुमतबाटै विषयको छिनोफानो गर्नेहरुले अरुलाई सहमतिको अर्ति दिन नहुने बताउँदै उहाँले विश्वभरका नेताहरुलाई नेपालको सन्दर्भमा सहमतिको कुरा नगर्न आग्रह गर्नुभयो ।
पौडेलले संविधान निर्माणको क्रममा सरकारले प्रकृयालाई अघि बढाउदै र विपक्षी मोर्चासँग पनि वार्ता गर्दै अगाडि बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “अर्को पाँच दिन पर्खिने अर्को चौतारी हो, पर्खँदा पनि सहमति भएन भने अगाडि बढ्ने हो ।”
उपसभापति पौडेलले लोकतान्त्रिक प्रक्रियाको सुन्दरता बहुमतबाट विषयको छिनोफानो गर्ने नै भएकाले सहमति नभएमा बहुमतीय पद्धतिबाटै संविधान जारी हुने बताउनुभयो ।
आफूहरुले सहमतिको लागि हदैसम्म लचक भएपनि विपक्षी मोर्चाले अड्को थापेकाले सहमति हुन नसकेको प्रष्ट पार्दै उहाँले केही व्यक्तिले सहमतिको नाममा रचेको प्रपञ्च सफल नहुने दाबी पनि गर्नुभयो ।
अघिल्लो संविधानसभामा लोकतन्त्र पक्षधरसँग बहुमत नभएको स्मरण गर्दै उहाँले त्यही कारणले शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणाली तथा सङ्घीयताको विषयमा पनि आफूहरु लचकदार भएको उल्लेख गर्नुुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, सभासद् यज्ञबहादुर थापा, शारदा पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।






