
पुस २५, काठमाडौँ- ‘माघ ८ मै नयाँ संविधानः नागरिक अभियान’ले आज काठमाण्डौमा सभासद–नागरिक सडक बहस आयोजना गरेको छ । कार्यक्रममा संबिधान सभाका सभासद प्रकाश ज्वाला र नागरिक समाजका अगुवाहरु बिष्णुपुकार श्रेष्ठ, चरण प्रसाई, शर्मिला कार्की तथा सुबोधराज प्याकुरेल र जनताविच संविधानसभा भवन नजिकैको सडकमा बहस आयोजना भएको थियोे ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य प्रकाश ज्वालाले संविधान सभाका ठूला नेता समयमै सजक नहुदाँ फेरी पनि तोकिएको समयमै संविधान नआउने आशंका बढेको बताउनु भयो । ”सहमतिका नाममा संविधानसभालाई बन्धक बनाइनु विडम्बना हो ” सभासद ज्वालाले भन्नुभयो । उहाँले संक्षिप्त प्रक्रियाबाट भए पनि संविधान जारी गरिनेमा अस्वस्त पार्नु भयो । आर्थिक समितिका संयोजक समेत रहनुभएका सभाषद ज्वालाले देश ८,१० जना नेताको अनिर्णयको बन्दी भएको भन्दै नागरिक सभाजको निरन्तर खबरदारीमा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नागरिक अगुवा चरण प्रसाई सभासद समक्ष सहमति भन्दै प्रक्रिया लम्बाउने काम गरेकोमा रोष ब्यक्त गर्नुभयो । आफुहरुले नागरिक नागरिक बीच विखण्डन ल्याउने संविधान नचाहेर नागरिकलाई एकतामा बाध्ने संविधान चाहेको भन्दै अगुवा शर्मिला कार्कीले ७ वर्ष वित्दा पनि समतामूलक संविधान नआउनु विडम्वना भएको बताउनु भयो । उहाँले माघ ८ मा संबिधान सभाले पुरा संविधान ल्याउन नसके संविधानको खाकासम्म भएपनि ल्याउनुपर्ने धारणा राख्नुभयोे । नागरिक अगुवा विष्णु पुकार श्रेष्ठले संविधान शन्तिप्रक्रियाको महत्वपूर्ण हिस्सा भएको भन्दै माघ ८ मै संविधान ल्याएर देशलाई संक्रमणकालबाट मुक्त गर्नुपर्ने बताउनु भयो । मानव अधिकार कर्मी सुबोधराज प्याकुरेलले नेपाली जनताले सबैको अधिकार सुनिश्चित भएको नयाँ संविधान हेर्न चाहेको बताउनु भयो । त्यस्तै अभियानको सचिवालय कोक्यापकी अध्यक्ष उषा बरुवालले माघ ८ मा संबिधान ल्याउन नसक्ने भए पहिले नै किन मिति तोकेको भनेर सभाषदसंग प्रश्न राख्नुभयो ।
कार्यक्रममा उपस्थित सर्वसाधारणले सभासद ज्वाला र नागरिक समाजका अगुवाहरु समेत समक्ष आफ्ना प्रश्न, सुझाव र रोष राखेका थिए ।
पहिलो दिनको कार्यक्रम समापन गदै अभियन्ता भावना भट्टले संविधान जारी नभएसम्म दबाबमुलक वहस कार्यक्रम निरन्तर गरिने बताउनु भयो ।
अभियान सचिवालय शान्तिका लागि साझा अभियानका अनुशार यस्ता बहस कार्यक्रम माघ ८ सम्मै निरन्तर रहने छ ।आगामी सोमबार सभासदहरु श्याम श्रेष्ठ र गगन थापा उक्त सडक बहसमा नागरिकको गुनासा सुन्न आउने कार्यक्रम रहेको अभियन्ता गणेश घिमिरेले जानकारी दिनुभएको छ ।








