सहमतिबाट बन्ने संविधानले मात्र शान्ति र स्थायित्व ल्याउछ : नेता शर्मा

janarjan sharmaपुस २ । एकीकृत नेकपा माओवादीका नेता तथा सभासद जनार्दन शर्माले बहुमतले जारी गरेको संविधानले जनताको अधिकार दिलाउन नसक्ने भएकाले यस्ले भयावह स्थिति सिर्जना गर्ने दावी गरेका छन ।

संविधानसभा भवन नयाँबानेश्वमा जारी छलफलमा उनले कांग्रेस–एमालेले विगतका आन्दोलन र अन्तरिम संविधानको प्रस्तावनाको विरुद्धमा गएर संविधान निर्माण गर्न खोजिएकोे आरोप लगाए ।
नेता शर्माले सहमतिमा जारी हुने संविधानले मात्र मुलुकमा शान्ति र स्थायित्व ल्याउने भएकाले सहमतिमा नै संविधान जारी गर्नुको विकल्प नरहेको दावी गरे ।

उक्त प्रतिवेदन माथिको बुधबारको छलफलमा निकै आक्रोशित मुद्रामा प्रस्तुत हुँदै सभासद शर्माले कांग्रेस र एमालेले सम्वाद समितिमा प्रस्तुत गरेको ९ बुँदे प्रस्तावको व्यापक आलोचना गरे । उनले भने, ‘यसले बहुमतको दम्भ देखाएको पनि प्रष्ट भएको छ ।”

कांग्रेस–एमालेतिर ईंकित गर्दै उनले भने,‘दुई तिहाईले संविधान घोषणा गरे हुन्छ, कस्ले रोक्छ ?’ । सभासद शर्माले यसरी भयावह स्थिति सिर्जना गर्ने र अहिले बहुमतको पक्षमा उभिएका दलहरु नै त्यसपछि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

संविधानसभामा रहेका १९ दलको अभिमत आफूले बैठकमा राखेको भन्दै सभासद शर्माले वर्तमान सरकार गठन भए पछि सम्पूर्ण क्षेत्रमा व्यापक भ्रष्टाचार मौलाएकाले बहुमतको दम्भ त्यसलाई निराकरणको निम्ति देखाउन पनि सुझाव दिएका छन् ।

जारी छलफलको शुरुमै बोल्दै नेपाली कांग्रेसका सभासद चन्द्रकान्त भण्डारीले अहिले समयमा नै संविधान निर्माण हुनेमा शंका उत्पन्न भएकाले अब पनि संविधान बनाउन नसकिए सम्पूर्ण राजनैतिक दल र सिङ्गो मुलुक नै असफल हुने स्पष्ट पारेका छन् ।

सभासद भण्डारीले मुलुकको सम्बृद्धिका लागि विगतमा संघीयता रोजिएको भए तापनि अहिले संघीयताले मुलुक विखण्डनतिर लरबराईरहेको आभास हुन थालेकाले अहिले देशमा विभिन्न भागमा संघीयता र गणतन्त्र विरोधी स्वरहरु सुनिन थालेको पनि स्पष्ट पारेका छन् ।

भारत र अमेरिकाको जस्तो संघीयता नेपालमा हुनै नसक्ने भन्दै उनले मिश्रीत निर्वाचन प्रणाली र स्वतन्त्र न्यायपालिका हुनु पर्नेमा जोड दिएका छन् ।

सम्वाद समितिको प्रतिवेदन माथिको आज तेस्रो दिनको छलफमा भाग लिंदै नेकपा एमालेका उपाध्यक्ष एवं सभासद युवराज ज्ञवालीले अघिल्लो संविधानसभाको ४ वर्ष सम्म सहमतिको प्रयास गरिएको र अहिले पनि चौथो पटक सम्म समय थपेर संम्वाद समितिलाई सहमति कायम गर्न समय दिइएकोमा अहिले सम्म सहमति हुन नसकेकाले अब सहमतिको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

सभासद ज्ञवालीले अब सहमतिको कुरा गरेर संविधान लेखनलाई अड्काउन नहुने तर्क राख्दै भने –‘अझ ३ वर्षसम्म सहमतिको प्रयास गरे पनि यो सम्भवन छैन, अब सहमतिको सम्भावना छैन ।’

वर्तमान संविधान सभामा संघीयता र गणतन्त्र विरोधी पार्टीहरु समेत रहेकाले सबै पार्टी र सबै विषयमा सहमति कायम गरि सहमतिमा संविधान जारी गर्न सम्भव नभएको स्पष्ट गर्दै यो तीतो यथार्थलाई सबैले स्वीकार्नु पर्ने बताएका छन् ।

सम्वाद समितिको प्रतिवेदन माथिको जारी छलफलमा राप्रपा नेपाली सभासद कुन्ती कुमारी शाहीले सहमति कायम हुन नसकेका विषयलाई जनमत संग्रह मार्फत टुंग्याउने गरि भए पनि आउँदो माघ ८ गते भित्र नै संविधान जारी हुने पर्नेमा जोड दिइन ।

सभासद शाहीले राजा सहितको प्रजातन्त्र र हिन्दू राज्य चाहने शक्ति हामी पनि संविधानसभामा चौथो ठूलो शक्तिको रुपमा रहेकाले सम्पूर्ण कुरामा सहमति कायम असम्भव भएकाले आफ्नो दलीय स्वार्थलाई त्यागेर भए पनि ढिलो नगरि अब संविधान लेखन तर्फ लाग्नु पर्ने बताएकी छिन् ।

सम्वाद समितिको प्रतिवदेन माथिको आजको छलफलमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका सभासद जितेन्द्र नारायण देवले छलफलमा आवेग र उत्तेजनामा आएर सभासदहरुले भाग लिइरहेको आफूलाई आभास भएको भन्दै आवेग र उत्तेजनामा आएर सहमति हुनै नसक्ने बताए ।

आजको छलफलमा नेकपा मालेका सभासद अइन्द्र सुन्दर नेम्वाङ्ग प्रमुख दलहरुबीच मूलभूत विषयमा सहमति हुन नसक्दा आउँदो माघ ८ मा संविधान जारी हुनेमा आशंका रहेको स्पष्ट गर्दै हिमाल, पहाड र तराई समेटिएको प्रदेशहरु निर्माण हुनु पर्ने बताएका छन् ।

सम्बन्धित शिर्षकहरु