मङ्सिर २३, नवलपरासी । नवलपरासी जिल्लाको सुनवलमा श्रीमद्भागवत विश्व जागरण अभियान धार्मिक संस्कार
महामहोत्सव महायज्ञ हुने भएको छ । आज देखी पौष ३ गतेसम्म सञ्चालन हुने सो
महामहोत्सव महायज्ञ समाजमा सनातन धर्म ॐकार परिवारको धार्मिक–आध्यात्मिक दर्शन, परम्परा,
सभ्यता, संस्कृतिको वैज्ञानिकताको बारेमा नागरिकलाई जनचेतना अभिबृद्धि गर्न, मानव–जीवन
दर्शनको ज्ञान–विज्ञानको बारेमा सुशिक्षित गर्न, नयाँ पीढीलाई त्यसको बारेमा सही मार्गदर्शन गरी
नेपाली समाजबाट नेपालको मौलिकता अनुसार अप्नाउँदै आइएको संस्कारका विभिन्न पक्षहरूको बारेमा
शिक्षा दिन, आफ्नो धर्म–दर्शनको बारेमा कसैलाई पनि द्विविधा हुन नदिन जो कोहीलाई पनि लागेको
जिज्ञासाको समाधानको लागि उचित व्यवस्था गर्न संस्कार भवन निर्माणलाई मुख्य उद्देश्य राखेर गर्न
लागिएको बताईएको छ । संस्कार भवनको आवश्यकता महसूस गरी नेपालकै ईतिहासमा पहिलो पटक
सञ्चालन गर्न लागिएको यो महायज्ञमा बालब्यास श्री ईश्वरकृष्ण महाराजले भागवत् कथा वाचन
गर्नुहुने बताइएको छ ।
‘यस प्रकारको संस्कार भवन निर्माण गरी सत्सङ्गलगायतका कार्यहरू सञ्चालन गरी आफ्नो धर्म,
संस्कृतिको संरक्षण–संवर्धन–प्रवर्धन, प्रचार–प्रसार गर्ने कार्यलाई देशभरी अभियानको रूपमा सञ्चालन
गर्न सक्यौं भने हाम्रो धर्म सधैं बाँचिरहन्छ, हामीले हाम्रा नयाँ पीढीलाई सही धर्म–संस्कृति हस्तान्तरण
गर्न पाउँछौं, यस्तै कार्य गर्न सक्यौं भने मात्रै हाम्रो जन्म र जीवन धन्य हुन्छ भन्ने लागेर यस प्रकारको
कार्य गर्न लागिएको हो’ महायज्ञ तयारी समितिकी संयोजक श्री देवी घिमिरेले बताउनु भयो ।
सत्–मार्ग अभियान नेपालको केन्द्रीय सदस्यसमेत रहनु भएकी देवी घिमिरेले यस महायज्ञको बारेमा
थप्दै ‘जीवनमा धेरै व्यवसाय, पेशा, जिवनयापनका कार्यहरू गरियो तर अन्तिममा लाने चिज ती हुँदा
रैनछन्, जीवन पछिलाई पनि होस भनेर यस्तो पारमार्थिक कार्य गर्ने उत्सुकता जागेर आयो’। महायज्ञमा
प्रत्यक दिन धर्म–अध्यात्मका विशिष्ट व्यक्तित्त्वहरूबाट प्रवचनको समेत व्यवस्था गरिएको, एकल
महिला, ज्येष्ठ नागरिक, केही धार्मिक एवम् सामाजिक व्यक्तित्त्वहरूलाई सम्मान गरिने तथा
बालकबालिकालाई संस्कार र युवावर्गलाई नैतिक शिक्षा प्रदान गर्ने कार्यक्रम रहेको पनि घिमिरेले बताउनु
भयो ।
यो संस्कार महामहोत्सव महायज्ञ तथा नेपालकै पहिलो संस्कारभवनले नवलपरासीको सुनवलको
परिचयलाई अझ व्यापकता दिनेछ भने धर्म र मानव सभ्यताको संस्कारको यो पछिल्लो समयमा यो
स्थान केन्द्र बन्नसक्ने अपेक्षा गरिएको छ, स्थानीय श्री ध्रुव अर्यालले बताउनु हुन्छ । हामी पनि आशा
गरौं यस्ता सद्कार्यको उत्प्रेरणा सबैलाई जागेर आओस ।








