फागुन २३ ।काठमाडौँ,टर्किस एयरको जहाज दुर्घटनामा परेपछि चारदिनअघिदेखि अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पुनःसञ्चालनमा आएको छ ।नागरिक उडड्यन प्राधिकरणले आज विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर अन्तर्राष्ट्रिय उडान आवतजावत हुने जानकारी दिएको हो ।महानिर्देशक रतिश चन्द्रलाल सुमनले सहज नभएसम्म विमानस्थल चौबिसै घण्टा खुल्ला गरिने बताउनु भयो ।
जहाजलाई आज बिहान करिब ९ बजे मुख्य धावनमार्गस्थित सुरक्षित स्थानमा पुर्याइएपछि विमानस्थल पुनःसञ्चालन हुने सम्भावना बढेको छ । उडड्यन प्राधिकरणका महानिर्देशक सुमनले दुर्घटनाग्रस्त जहाजलाई ट्याक्सी वेमा ल्याउनका लागि नेपाली प्राविधिक तथा भारतबाट आएका प्राविधिकका साथै विशेषज्ञ, सुरक्षाकर्मी तथा कर्मचारीले सहयोग गरेको जानकारी दिनु भयो । जहाज गुडाउनका लागि ग्राभेलिङ तथा आवश्यक अन्य तयारी गरिएको थियो ।अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुन नसक्दा विमानस्थलमा यात्रु अलपत्र परेका थिए । उडानका लागि तयारी भइरहेकाले विमानस्थल पुगेका यात्रु खुसी देखिएका छन् । सञ्चारकर्मीको समूहलाई दुर्घटना भएको स्थलतर्फ समाचार सङ्कलन तथा तस्बिर खिंचाउन लैजाने तयारीसमेत भएको छ । अवरुद्ध विमानस्थल खुलेपछि यात्रुलाई सहज सेवा दिनका लागि २४सै घन्टा विमानस्थल सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।








