मंसिर २१। काठमाडौं, कांग्रेस संस्थापक नेता तथा जनआन्दोलनका कमान्डर गणेशमान सिंहको सम्मानमा सरकारले निःशुल्क दिएको जग्गा ‘गणेशमान सिंह स्मृतिवाटिका संरक्षण समिति’ले व्यापारिक घरानालाई ३९ वर्षका लागि लिजमा दिएर व्यापार थालेको छ । समितिका संरक्षक गणेशमान पुत्र कांग्रेस महामन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह हुन् भने अध्यक्ष भत्तपुर-२ का कांग्रेस सभासद् रामेश्वर ढुंगेल हुन् ।
नेता सिंहको सम्मानमा अत्याधुनिक उद्यान निर्माण गर्न सरकारले १४ वर्षअघि भक्तपुरको कटुञ्जे-६ मा एक सय ७५ रोपनी पाँच आना जग्गा
समितिलाई दिएको छ । समितिले साःखलाई १५ करोड रुपैयाँमा ३९ वर्षका लागि लिजमा दिएको छ ।
स्रोतका अनुसार वाटिका बन्नुपर्ने सरकारी जग्गामा निजी कम्पनीले तारे होटेल बनाउन लागेको स्थानीय बासिनदाको आरोप छ ।
‘जग्गा सरकारले दिएको हो, त्यसमा स्मृतिपार्क बनाइनुपर्ने थियो, तर अब निजी प्रयोजनको तारे होटेल बन्ने भयो, स्थानीयको विरोधमा यसैमा हो,’ कटुञ्जे-६ का स्थानीय निर्मल भट्टराईले भने । यसको विरोधमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।
सरकारले १४ वर्ष अघि तीन करोडको लागतमा स्मृतिवाटिकामा अत्याधुनिक पार्क बनाउने गुरुयोजना पनि बनाएको थियो ।नयाँ पत्रिकाबाट साभार ।








