मंसिर १४ ।काठमाडौ,मधेसी जनअधिकार फोरम नेपालले संघियताको विवाद समाधानका लागि भन्दै संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा ९ प्रदेशको प्रस्ताव गरेको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति समितिमा जातीयतासहितको ९ प्रदेशको प्रस्ताव गर्नुभएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई ९ भौगोलिक प्रदेशमा विभाजन गर्न प्रस्ताव गर्दै फोरम नेपालले प्रदेशसभाको दुई तिहाई बहुमतले पारित गरी प्रदेशको नाम तथा राजधानी परिवर्तन गर्न सक्ने उल्लेख गरेको छ ।
फोरम नेपालले तराईमा एक प्रदेशको अडान यथावत राख्दै वीरगञ्जलाई प्रदेश राजधानी प्रस्ताव गरेको छ ।
फोरम नेपालको प्रस्तावमा लिम्वूवान, किरात, तामसालिङ्ग, मगरात, नेवाः, नारायणी, तमुवान, मधेस र तराई, र कर्णाली र खशान प्रदेश प्रस्ताव गरेको छ ।
त्यसमा लिम्बूवाको राजधानी इलाम, किरातको धनकुटा, ताम्सालिङको पाँचखाल, मगरातको तानसेन, नेवाःको काठमाडौं, नारायणीको गोरखा, तमुवानको पोखरा र कर्णाली र खसानको सुर्खेत हुनुपर्ने उल्लेख छ । कांग्रेस–एमालेसहितका दलले यसअघि नै सात प्रदेशको प्रस्ताव गरिसकेका छन् ।







