मकवानपुरमा ट्रक दुर्घटना हुँदा सातको मृत्यु,नौं घाइते

कात्तिक १८ । मकवानपुर,सर्लाहीबाट चितवन आउँदै गरेको ना ४ ख १२५२ नम्बरको ट्रक मकवानपुरको चुरियामाईको उकालोमा दुर्घटना सात जनाको मृत्यु भएको छ । नौं जना घाइते भएका छन् ।

दुर्घटनामा परी औरही ८ सर्लाहीका २५ वर्षका सियाराम महतो, २६ वर्षका अगरु महतो, २२ वर्षका जीत पासवान, ४५ वर्षका रामवली माझी, ३० वर्षका विशेष यादव र ३२ वर्षका जगिलाल महतोको ज्यान गएको छ । ज्यान गुमाउने एकको परिचय खुल्न सकेको छैन् ।

घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्यको अवस्थामा सामान्य रहेपनि उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

घाइतेहरु २६ वर्षका रामबाबु राय यादव, ३० वर्षका नवल राय, ४३ वर्षका शुकदेव माझी, १८ वर्षका विजय माझी, ५५ वर्षका लक्षु माझी, ४५ वर्षका महेन्द्र पासवान, २० वर्षका रामस्वगारत माझी, ३० वर्षका राजेश राय, ५५ वर्षका छविलाल पासवान रहेको घटनास्थल पुगेका पत्रकार बालकृष्ण दाहालले अनलाइनखबरलाई जानकारी दिए ।

ट्रक अनियन्त्रित भएर सडकको बायाँ पट्टी पल्टिएको प्रहरीले जनाएको छ ।

इटा बोकेर आउँदै गरेको ट्रकमा धान काट्ने मजदुरहरु रहेका थिए । इटाले पुरिएको अवस्थामा रहेका शवलाई निकालिएको थियो ।

सम्बन्धित शिर्षकहरु