त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै

विद्यार्थी एक, प्राध्यापक बाह्र
tuकाठमाडौं, २३ भदौ । त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ । तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै छन् ।

नयाँ पत्रिकामा खबर छ– मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना भएनन् । इतिहास केन्द्रीय विभागमा भने एक विद्यार्थी भर्ना भएका छन् । प्राध्यापक भने १२ छन् ।

त्रिवि भूगोल केन्द्रीय विभाग प्रमुख नरेन्द्रराज खनालले प्रथम सेमेस्टरमा भर्ना शून्य रहेको र तेस्रो सेमेस्टरमा नियमित पाँच विद्यार्थी हाजिर हुने गरेको बताए । सो विभागमा १४ प्राध्यापक छन् । त्रिविका आधा दर्जन केन्द्रीय विभागमा १० जनाभन्दा कम विद्यार्थी छन् । तर, प्राध्यापकको संख्या त्योभन्दा धेरै छ ।

आधा दर्जन विषयमा विद्यार्थीभन्दा प्राध्यापक संख्या धेरै छ । अहिले त्रिविमा प्रथम सेमेस्टरका विद्यार्थी परीक्षा सकेर बसेका छन तेस्रो सेमेस्टर सञ्चालनमा छ ।

त्रिविमा स्नातकोत्तर चार सेमेस्टरको हुने गरे पनि एउटै समयमा दुईवटा सेमेस्टर मात्र सञ्चालन हुने गरेको छ ।

त्रिविको भूगोल केन्द्रीय विभागमा प्रवेश परीक्षा दिन विद्यार्थीले निवेदन दिएका थिए । तर, प्राध्यापकले विद्यार्थीले चाहेको समयमा नपढाउने भएपछि प्रथम सेमेस्टरमा विद्यार्थी शून्य भएको हो ।

धेरै विद्यार्थी हुने केही केन्द्रीय विभागले दुई सिफ्टमा पनि कक्षा सञ्चालन गरेका छन् । तर, प्राध्यापकले बिहान पढाउन नसक्ने बताएपछि कम विद्यार्थी भर्ना हुने भूगोल केन्द्रीय विभागमा प्रवेश परीक्षा दिएका विद्यार्थीसमेत भर्ना नभएका हुन् ।

त्रिवि मानविकी संकायका डिन प्रा।डा। चिन्तामणि पोखरेलले भूगोलका विभागीय प्रमुखले बिहान पढाउने भनेर फारम लिएको, तर पढाइ नगरेपछि प्रथम सेमेस्टर शून्य भएको बताए । पोखरेलका अनुसार त्रिविका हिन्दी, संस्कृत, राजनीतिशास्त्रजस्ता केही विभागमा चार–पाँचजना मात्र विद्यार्थी छन् ।

उनले भने, ‘सेमेस्टरमा ८० प्रतिशत हाजिरी चाहिने व्यवस्था छ । त्यसैले पनि विद्यार्थी भर्ना गर्न र नियमितता गराउन समस्या छ ।’ उनका अनुसार २० विद्यार्थी संख्या नपुग्ने धेरै विभाग रहेका छन् । इतिहास विभागमा प्रथम सेमेस्टरमा एक विद्यार्थी भर्ना भएका थिए । चौथो सेमेस्टरमा भने चारजना विद्यार्थी छन् ।

तर, सो विभागमा १२ प्राध्यापक छन् । ६ प्राध्यापक, ४ रिडर र दुई लेक्चरको दरबन्दी छ । केही प्राध्यापक काजमा समेत बाहिर गएका छन् ।

मानविकी संकायमा मात्र होइन शिक्षाशास्त्रका केही विषयमा विद्यार्थीभन्दा प्राध्यापक धेरै छन् ।

डिन प्रा। नेत्रप्रसाद धितालका अनुसार शिक्षाशास्त्रमा पढाइ हुने इतिहास, राजनीतिशास्त्र र भूगोलमा न्यून विद्यार्थी छन् । यी विषयमा पाँचभन्दा कम विद्यार्थी संख्या रहेको उनले बताए ।

सम्बन्धित शिर्षकहरु