काठमाडौँ,करोडौं अनियमितता गरेको अभियोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगतको बाल स्वास्थ्य महाशाखाका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि हिरासतमा लिएको छ ।
बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. श्यामराज उप्रेती, लेखा अधिकृत दिपकप्रसाद तिमिल्सिना, जनस्वास्थ्य अधिकृतद्वय शङ्करदेव जोशी र ठाकुर बस्नेत, बरिष्ठ जनस्वास्थ्य अधिकृतद्वय लिलाबिक्रम थापा र दिपकराज चौलागाईं, खोप सुपरभाइजर अधिकृतत्रय प्रेमकुमार श्रेष्ठ, शम्भुबाबु तिवारी र शङ्करप्रसाद आचार्य, शाखा अधिकृतद्वय डिकबहादुर विष्ट र हरिप्रसाद अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक महेन्द्रप्रकाश शर्मालाई आयोगले हिरासतमा लिएको बताएको छ ।
बाल स्वास्थ्य महाशाखाले सञ्चालनका गरेका विभिन्न खोप कार्यक्रममा अनियमितता र भ्रष्टाचार गरेको भन्ने आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा सो देखिएको आयोगद्वारा आइतबार जारी विज्ञप्तीमा जनाइएको छ ।
अनुसन्धानका क्रममा उक्त कार्यक्रमको नाममा खर्च भएको भनी नक्कली हवाई इ–टिकेट, फोटोकपी मेसिन नै नभएको पुस्तक पसलको बिल, हल नै नभएको तथा हल भएता पनि कार्यक्रम नगरी हल भाडामा लिएको, कुनै पनि सामान खरीद नगरी बिल पेस गरेको, सरकारी गाडीको पेट्रोलसमेतको झुठा बिलहरु पेस गरेकालगायतका अनियमितता गरेको देखिएको छ ।
आयोगले छानबिन प्रतिवेदनका आधारमा अनियमितता भएको पुष्टि भएको र पेश्की फर्छर्यौटका लागि खाली बिलहरुसमेत पेस गरी विभिन्न कार्यक्रमका नाममा करोडौं रकम दुरुपयोग गरिएको बताएको छ ।








