काठमाडौं, नेपाल सरकारले नेपाली सीमामा प्रवेश गरी भारतीय सुरक्षाकमीं एसएसबीले नेपालीमाथि गोली चलाएको घटनाका विषयमा गम्भीर आपत्ति प्रकट गर्दै घटनाको छानविन गरी दोषी सुरक्षाकर्मीमाथि कारवाहीको माग गरेको छ ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै बुधबार सुनसरीको हरिपुर–७ मा नेपाल(भारत सीमा क्षेत्रको दशगजाबाट एक सय मिटर नेपालपट्टि सशस्त्र भारतीय सुरक्षाकर्मी प्रवेश गरेर निहत्था नेपालीमाथि गोली चलाएको त्यसमा चार जना नेपाली घाइते भएको जनाएको छ । उक्त घटनाबारे काठमाडौंस्थित भारतीय दूतावास मार्फत भारत सरकारको ध्यानाकर्षण गराइएको विज्ञप्तीमा जनाइएको छ । आगामी दिनमा यस्तो घटना नहोस भनेरपनि सरकारले सचेत गराएको छ ।
भारतीय दूतावासले भने बुधबार विधप्ती जारी गर्दै एसएसबीको गस्ती टोलीमाथि तस्करले आक्रमण गरेको र त्यस घटनामा कुनैपनि नेपाली घाइते नभएको दावी गरेको थियो । साथै घटना भारतीय भूमीमा भाएको दूतावासको दावी थियो ।







