एउटै डोरीमा झुन्डिएको अवस्थामा एक जोडीको शव फेला

कात्तिक ८ । सोलुखुम्बु, सोलुखुम्बु जिल्लाको वाकु-४ सिबुचेस्थित जङ्गलमा गत साउनमा एकैसाथ हराएको एक युगल जोडीको शव एकै ठाँउमा भेटिएको छ ।

उनिहरु प्रेम गरेर शहरतिर भागेको गाउँलेले अनुमान लगाएका थिए । तर, उनीहरुको शव सिबुचेको जंगलमा रुखमाथि एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा भेटिएको छ । शवको अवशेषमात्रै छ ।

सुसाइड नोटका आधारमा प्रहरीले उनीहरुको पहिचान गरेको छ । एउटै डोरीमा पासो लगाएर आत्महत्या गर्नेमा वाकु-३ रोचमका गोकुल राई र सविता राई रहेको प्रहरीले बताएको छ । नाताले उनीहरु काका भतिजी पर्थे । आपसमा प्रेम सम्बन्ध कायम भएपछि उनीहरु एकसाथ गाउँबाट भागेका थिए । काका भतिजी नाता पर्ने गोकुल र सविता गाउँबाट ०७० साल साउन महिनामा एकै समयमा हराएका थिए । गाउँमा उनीहरू भागेको हल्ला भएको थियो । मृतकहरुको सुसाइट नोटअनुसार उनीहरुले गत साउन ११ गते आत्महत्या गरेका थिए । तर, शवको अवशेष भने ३ महिनापछि मात्रै फेला परेको हो । तीन महिनामा शव क्षतविक्षत भैसक्दा पनि साउने झरीमा सुसाइट नोट लेखेको डायरी भने पढ्न सकिने अवस्थामा भेटिनु अर्को उदेकलाग्दो भएको छ । विसं ०७० साउन ११ गते मिति उल्लेख गरिएको सुसाइट नोटका आधारमा सोही मितिमा घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थल नजिकै उनीहरूले प्रयोग गर्ने दुई थान मोबाइल सेट पनि फेला परेको छ । शवको अवशेष भने केही भागमात्रै भेटिएको छ । उनीहरूको डायरी र सुसाइट नोटसमेत भेटिएकाले उनीहरूले आत्महत्या नै गरेको प्रहरीको ठहर छ ।

सम्बन्धित शिर्षकहरु