कात्तिक ३ ।झापा,अज्ञात समूहको खुकुरी प्रहारबाट जनआन्दोलन साप्ताहिककी कार्यकारी सम्पादक रेजिना गौतम (रोदन) गम्भीर घाइते हुनुभएको छ ।
उहाँलाई गएराति झापाको बिर्तामोडस्थित शनिश्चरे रोडको डिभाइनर फर्निचर उद्योगनजिकै हतियारधारी समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
उहाँलाई गएराति काम सकेर डेरातर्फ जाँदै गर्दा आठ,नौजनाको समूहमा रहेको आक्रमणकारीले अन्धाधुन्ध खुकुरी प्रहार गरेको थियो ।
खुकुरी प्रहारबाट पत्रकार गौतमको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइते गौतम अर्जुनधारा दैनिकमा समेत आबद्ध हुनुहुन्छ ।
त्यस्तै उहाँसँगै रहेका नेपाल पत्रकार महासङ्घ झापाका कार्यालय सहयोगी ख्याम बरालसमेत टाउकोमा चोट लागी घाइते हुनुभएको छ ।
घाइते दुवैको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष्य भीम नेम्वाङले जानकारी दिनुभयो ।
सोही समूहले अन्य दुई सर्वसाधारणलाई समेत कुटपिट गरेका छन् । कुटपिटबाट बिर्तामोडस्थित सुगम चौकका टीकाराम खतिवडा र नीलमणि दाहाल घाइते भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
घटनामा संलग्नमध्ये तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनामा संलग्न अन्य ६ जनाको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।








