असोज ३०, काठमाडौँ- आफ्नै छोरी बलात्कार गर्ने एक पतित बाबुलाई ललितपुर जिल्ला अदालतले २० बर्षको जेल सजायको फैसला सुनाएको छ। आफ्नै छोरीलाई निरन्तर बलात्कार गरेको थाहा पाएपछि ती बालिकाकी आमाले नै आफ्ना पतिविरुद्ध गत बैशाखमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।
ललितपुर प्रहरीका अनुशार उनले चार बर्षदेखि छोरीलाई जवर्जस्ती गरेको अनुशन्धान बाट खुलेपछि अदालतमा मुद्दा दायर भएको थियो। छोरी स्कुल नगएको दिन डर र धम्कि दिदै बलात्कार गरेको भन्दै पीडितकि आमाले जाहेरी दरखास्त हालेकी थिइन् । अभियुक्त अदालतको आदेशअनुसार गत जेठ २२ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए।
पीडितको सामाजिक प्रतिष्ठालाई ध्यानमा राखेर प्रहरी र अदालतले नाम गोप्य राखेको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरको इजलासले अभियुक्तलाई २० बर्ष जेल सजायको फैसला सुनाएको हो। पीडितको मानसिक, शारिरिक र मनौवैज्ञानिक क्षतीपूर्तिका लागि राज्यका तर्फबाट स्वास्थ्य र मनौवैज्ञानिक परामर्श निस्शुल्क उपलब्ध गराउन पनि आदेश दिएको छ।








