एजेन्सी – नाइजेरियाको बेनुइ राज्यमा बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । बेनुइ राज्यका दुई बस्तीमा बन्दुकधारीको समूहले आक्रमण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
बन्दुकधारीले राज्यको गुमा जिल्लाको म्बड्वेम गाउँ र तारका जिल्लाको टिरोट्यु गाउँमा पसेर आक्रमण गरेको र यसक्रममा कम्तीमा पनि २३ जना मारिएको राज्यका गभर्नरको कार्यालयका प्रवक्ता नथानियल इक्युरले जनाएका छन् ।
इक्युरलाई उद्धृत गर्दै सिन्ह्वाले जनाए अनुसार आक्रमणबाट धेरै सर्वसाधारण घाइते भएका छन् र उनीहरुको राज्यकै विभिन्न अस्पतालहरुमा उपचार भइरहेको समाचार आएको छ ।
राज्यका गभर्नरले आक्रमणको निन्दा गरेको र सुरक्षा निकायहरुलाई अपराध नियन्त्रण र मानिसहरुको जीवन र सम्पत्तिको रक्षा गर्न आग्रह गरेको बताए ।
पछिल्ला केही महिनायता नाइजेरियामा हतियारधारीको समूहबाट हुने हिंसा उल्लेखनीय रुपमा बढेको छ। त्यस्तै गाईवस्तुको लुटपाट र सशस्त्र डकैतीका घटनामा समेत वृद्धि भएको छ । यस्ता घटनाहरु समयसमयमा दोहोरीरहदा जनताहरुले त्रासमय परिस्थितिको सामना गर्नु पर्ने बाध्याता रहेको छ।








