नेविसङ्घको महाधिवेशन कात्तिक ३० गतेदेखि

असोज ५ ।काठमाडौँ,नेपाली काँग्रेसले आगामी कात्तिक ३० गतेदेखि मङ्सिर २ गते सम्म नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको मिति तोकेको छ ।

ने.वि.सङ्घले महाधिवेशनको मिति तोक्नुपर्ने माग राख्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा अनशनरत विद्यार्थी नेताले आज नवौँ दिनमा अनशन तोडेका छन् ।

काँग्रेस पार्टीले आगामी कात्तिक ३०, मङ्सिर १ र २ गते महाधिवेशन सम्पन्न गर्नुपर्ने सहितको मिति तोकेपछि अनशनरत विद्यार्थी शङ्कर पौडेल, गणेश सापकोटा, रवीन्द्र रोकाय र सुजन अधिकारीले अनशन तोड्नुभएको हो ।

उहाँहरुलाई पार्टी महामन्त्री प्रकाशमान सिंहले जुस खुवाएर अनशन तोडाउनुभएको थियो ।

नेविसङ्घको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने परिप्रेक्ष्यमा नेविसङ्घका नेताले विभिन्न माग राखी आमरण अनशन बसेको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै केन्द्रीय महाधिवेशन निष्पक्ष र पारदर्शी रुपमा सम्पन्न गराउन पार्टीले निर्देशन दिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताउनुभयो ।

अनशनरत विद्यार्थीलाई अनशन तोडी अधिवेशन प्रक्रियामा संलग्न रहनसमेत पार्टीले निर्देश गरेको नेता जोशीले बताउनुभयो ।

निर्देशन अन्र्तगत कात्तिक २० गतेभित्र महाधिवेशन प्रतिनिधिको अन्तिम सूची तयार पारी त्यसका आधारमा महाधिवेशन सम्पन्न गर्ने तथा विधि र प्रक्रिया नपुर्याइएका तथा अधिवेशन हुन बाँकी रहेका जिल्ला र क्याम्पसको अधिवेशन केन्द्रीय निर्देशन समितिले संयन्त्र बनाई कात्तिक १८ गतेभित्र सम्पन्न गर्ने भनिएको छ ।

साथै महाधिवेशन दुई-दुई वर्षमा बाध्यात्मक रुपमा गराउने व्यवस्थाको वैधानिक प्रबन्ध मिलाइने तथा महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्य केन्द्रीय निर्देशन समितिको प्रत्यक्ष निर्देशन र निरीक्षणमा सम्पन्न गरिने काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
१. २०७१ कार्तिक २० गतेभित्र महाधिवेशन प्रतिनिधिहरुको अन्तिम सूचि तयार पारी त्यसको आधारमा २०७१ कार्तिक ३०, मंसिर १ र २ गते महाधिवेशन सम्पन्न गर्ने ।
२. विधि र प्रक्रिया नपु-याइएका तथा अधिवेशन हुन वाँकी रहेका जिल्ला र क्याम्पसहरुको अधिवेशन केन्द्रीय निर्देशन समितिले संयन्त्र वनाई २०७१ कार्तिक १८ गते भित्र सम्पन्न गर्ने ।
३. नेपाल विद्यार्थी संघको महाधिवेशन २÷२ वर्षमा वाध्यात्मक रुपमा गराउने व्यवस्थाको वैधानिक प्रवन्ध मिलाउने ।
४. महाधिवेशन सम्वन्धि सम्पूर्ण कार्य केन्द्रीय निर्देशन समितिको प्रत्यक्ष निर्देशन र निरिक्षणमा सम्पन्न गर्ने ।

सम्बन्धित शिर्षकहरु