निर्वाचनमा बढी खर्च गर्नेमा कांग्रेस, दोस्रोमा एमाले, कुन पार्टीको खर्च कति ?

काठमाडौं । गत १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी रकम नेपाली कांग्रेसले खर्च गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचनमा विभिन्न १० शीर्षकमा भएको खर्च रकमको विवरण पेस गर्न ५ चैतसम्मको समय दिएकोमा सबैभन्दा बढी खर्च नेपाली कांग्रेसले गरेको देखिएको हो । कांग्रेसपछि दोस्रोमा नेकपा एमालेले गरेको छ । सबैभन्दा कम खर्च गर्ने दल नेपाल दर्शन पार्टी रहेको छ, राजधानी दैनिकमा खबर छ ।

एमालेले ५ चैतको समयसीमा नघाएर सोमबार मात्र खर्च विवरण आयोगमा पेस गरेको थियो । आयोगको कानुन शाखाका अधिकृत घमचन्द्र तिमल्सिनाले एमालेले सोमबार खर्च विवरण बुझाएको जानकारी दिए । आयोगमा दलहरूले बुझाएको विवरणअनुसार कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ ११० जना उम्मेदवार उठाएकोमा २ करोड ५ लाख ८३ हजार ४९६ रुपैयाँ खर्चको विवरण पेस गरेको छ ।

यसैगरी, एमालेले १०९ जना उम्मेदवार उठाउँदा १ करोड ७७ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ । नेकपा माओवादी केन्द्रले ११० जना उम्मेदवार उठाउँदा ३४ लाख १९ हजार ८७५ रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएको छ ।

यस्तै, विवेकशील साझा पार्टीले २४ उम्मेदवार उठाएकोमा ११ लाख २१ हजार ३६३ रुपैयाँ खर्च गरेको विवरण बुझाएको छ भने नयाँ शक्ति पार्टी नेपालले १०६ जना उम्मेदवारका लागि ३७ लाख ७५ हजार खर्च गरेको विवरण बुझाएको छ ।
यसैगरी, राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ६२ लाख रुपैयाँ खर्च गरेको छ भने नेपा राष्ट्रिय पार्टीले ६ लाख ९८ हजार ६४० रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।
नेपाल मजदुर किसान पार्टीले भने ८ लाख १६ हजार ९२० रुपैयाँ, राष्ट्रिय जनमोर्चाले ८ लाख २४ हजार ४३ रुपैयाँ, राप्रपाले ३२ लाख ९८ हजार, राप्रपा प्रजातान्त्रिकले १ करोड १ लाख ४० हजार र नेपाल दर्शन पार्टीले १ लाख ४५ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षकहरु