असोज ३ । राजविराज,सुनसरी हरिपुर गाविस ८ का ४० वर्षीय मो. मस्तकिम मियाँको हत्याको आरोपमा पत्नी ३२ वर्षीया सबरुन खातुनलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ। प्रेमीसँग मिलेर पतिको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले बिहीबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी र उनका प्रेमी मिलेर मियाँलाई सप्तरीको भारदह गाविस १ मा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको प्रहरी निरीक्षक दीपक कार्कीले बताउनु भयो । साउन २३ गते भैंसी किन्न सप्तरीको बमनगामा कट्टी गाविसस्थित तोपा हटिया आएका मियालाई पत्नीकै योजनामा प्रेमीले हत्या गरेको बुझिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनु ब्भयो ।
पत्नी र प्रेमीकै योजनामा हत्या गरी भैंसी किन्न लगेको सात लाख रुपैयाँ रकम लुटेर प्रेमी भने फरार भएका छन्।
उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। भारदह १ स्थित पश्चिमी कोसी नहरदेखि दक्षिणमा रहेको पानीको दहको काँसघारीमा कर्तव्य गरी हत्या गरेको अवस्थामा मियाँको शव गत साउन २४ गते बिहान ११ बजे फेलापरेको थियो।
शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन २४ गते पोस्टमार्टम भएको थियो।
प्रहरीले हत्याका मुख्य योजनाकार सबरुनका प्रेमीसहित हत्यामा संलग्न अन्य तीनजनाको नाम पक्राउ नपरी सार्वजनिक नगर्ने जनाएको छ।
घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।








