असोज २ ।इलाम,आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री-वितरण र जुवातासमा प्रतिबन्ध लगाएका छन ।
आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरण र जुवातासमा प्रतिबन्ध लगाएको इलाम नगरपालिका–७ महभिरस्थित सचेतना आमा समूहकी उपाध्यक्ष मीरा भण्डारीले बताउनुभयो ।
आमा समूहलाई सामुदायिक प्रहरी सेवा केन्द्र, हरित नगर महिला समूह, जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनले समेत साथ दिने भएको छ । गाउँ, घर, टोलमा जाँडरक्सी उत्पादन गरी बिक्री–वितरण गरेको थाहा पाएमा तीनपटकसम्म सम्झाउने र त्यसपछि पनि अटेर गरे प्रहरीको सहयोगमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउने आमा समूहले जनाएका छन् । नगरपालिका–४, ५, ६, ७, ८ र ९ मा सातवटा आमा समूह र टोलमा उपसमूह गठन भएका छन् ।
चाडपर्व नजिकिँदै जाँदा जाँड, रक्सी बिक्री र जुवातासका कारण सामाजिक विकृति फैलन नदिनेप्रति यहाँका महिला समूह र प्रहरी सक्रिय भएका छन् ।
नगरपालिकाका केही वडामा जाँडरक्सी सेवन र जुवातासका कारण घरेलु हिंसा बढ्न थालेपछि आमा समूह सक्रिय बन्न थालेका हुन् ।
जिल्ला प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक कृष्णकुमारी अधिकारीले नगरपालिकाको ६ र ७ नम्बर वडामा घरेलु मदिरा बनाउने गरिएको र सोही कारण गाउँमा घरेलु तथा महिला हिंसा हुने गरेको बताउनुभयो ।
चाडपर्वका समयमा हुने विकृति र विसङ्गति नियन्त्रण गर्न प्रहरी, आमा समूह, हरित नगर महिला समूह, सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त रूपमा नगरपालिकाका सबै वडामा पर्चा पम्प्लेटिङ, माइकिङ गर्न सुरु गरेका छन् ।
यस्तै यही समूहले जाँडरक्सी बढी सेवन गर्ने र जुवातास खेल्ने ठाउँमा रात्रि गस्तीसमेत गर्ने बताएको छ । आमा समूह गठन गरेपछि महिलामाथि हुने घरेलु हिंसा, मादकपदार्थ सेवन, झँैझगडाजस्ता घटना नियन्त्रणमा सहयोग पुगेको समाज सुधारक आमा समूहकी अध्यक्ष सकुन्तला दाहालको भनाइ छ ।मापसे गरेर आउने श्रीमान् वा केटालाई पक्राउ गरेर आमा समूहले प्रहरीमा जिम्मा लगाउने गरेका छन् । आमा समूहको सक्रियतामा धेरैलाई पक्राउ गरेर कारबाही गरेपछि धेरै सुध्रिएको प्रहरी सहायक निरीक्षक अधिकारीले बताउनुभयो ।
पुरुषले मादकपदार्थ खाएर श्रीमती कुट्ने, घरमा होहल्ला गर्ने र उच्छशृङ्खल गतिविधि हुन थालेपछि दुई वर्षअघि समाज सुधारक आमा समूह गठन भएको हो ।








