भदौ २२ । सिमरा,बाराको गढीमाई नगरपालिकाको वडा नम्बर-१ निवासी बीर बहादुर श्रेष्ठलाई इभोला भाइरस लक्षण देखिएको भन्ने कुरा निराधार रहेको पुष्टि भएको छ ।
दक्षिण अफ्रिकाबाट फैलिएको प्राण घातक रोग इबोला नेपाल पत्रकार महासंघ बारा शाखाको विशेष पहलमा शुक्रबार श्रेष्ठलाई भेटघाट गरेर उहाको स्वास्थ्य स्थितिको बिषयमा जानकारी लिएपछि सो कुराको पुष्टि भएको हो । नेपाली सेनामा कार्यरत श्रेष्ठ हालै कंगोबाट नेपाल फर्किएपछि उहामा इबोलाको परिक्षण गरिएको भन्ने कुरा संचारमाध्याममा प्रकाशित भएपनि स्वास्थ्य परिक्षण गर्दा कतैपनि आफ्नो शरिरमा इबोलाको लक्षण नदेखिएको स्वास्थ्य रिपोर्ट सहित संचारकर्मी,अधिकारकर्मी तथा सिमराका नागरिक अगुवाहरुलाई श्रेष्ठले शुक्रबार जानकारी दिनु भयो ।
उहाको निवासमा नै पुगेका सरोकारवलाहरुलाई श्रेष्ठले सबै जानकारी दिदै आफू ०७० साल माघ ३ गते कंगोमा गएको,०७१ साल साउन २७ गते नेपाल फर्किएको र भदौ ८ गते आंखा पाक्ने सामान्य स्वास्थ्य समस्या मात्रै आफुमा देखिएको बताउनु भयो । स्वास्थ्य समस्या देखिएपछि नारयणी अस्पताल वीरगन्जमा उपचार गराएको र इबोला भएको हुन सक्ने आशंकामा त्यहांका स्वास्थ्यकर्मीहरुले वीरगन्ज भन्सारमा हालै बनाइएको इबोला स्वास्थ्य डेक्समा जान सिफारिस गरेपछि आफूले सो ठाउमा समेत स्वास्थ्य परिक्षण गर्दा आफूमा इबोलाको कुनै लक्षण नै नदेखिएको बताउनु भयो । घर बिदामा बस्नु भएका नेपाली सेनामा कार्यरत श्रेष्ठले आफूमा इबोला भएको भन्ने गलत हल्लाका कारण आफू अहिले सामाजिक बहिस्कारमा परेको भन्दै चिन्ता व्यक्त्त गर्नु भयो । उहाका अनुसार इबोलाको हल्ला श्रेष्ठमा भएको भनेपछि छिमेकीहरु बोल्न समेत छाडेको र आफ्नो बालबच्चाहरुलाई समेत बिद्यालयले पठनपाठनमा नपठाउन भनेको गुनासो गर्नु भयो । नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्यायले इबोलाको पुष्टि नै नभइकन समाचार प्रकाशित हुनु दुःखद भएको र संचारगृहहरु बढि ब्यवसाहिक भएको देखाउने होडबाजीमा नागरिकको मानवअधिकार बारेमा बिसर्न नहुने टिप्पणी गर्दै श्रेष्ठमा कुनै इबोलाको लक्षण नदेखिएका कारण उनीसंग संगत गर्न सबैसंग आग्रह गरे ।ईबोला भएका ब्यक्तिको आयु बढिमा २१ दिन हुने र ७ दिन भित्र लक्षणहरु देखा पर्ने भएको तर श्रेष्ठ कगोंबाट आएको करिब १ महिना भएकोले निजलाई कुनै रोग नभएको सिमरा जस्तो शिक्षित क्षेत्रमा नागरिकले बुझनु पर्ने उपाध्यायले बताउनु भयो । अधिकारकर्मी बिदुर खड्का,अन्नपूर्ण पोष्टका पत्रकार दीवाकर भण्डारी,समाजसेवी कमला अधिकारी,सिमरा कलेजका प्रमुख सुमन भट्टराई,सिमरा प्रहरी कार्यालयका प्रमुख कुमार बिक्रम थापा,लोटसका राम प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।








