काठमाडौ, खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य सम्मान यस वर्ष कथाकार मनु बज्राकीको कथासङ्ग्रह ‘अन्नपूर्णाको भोज’ लाई अर्पण गर्ने निर्णय गरिएको छ ।
त्यस्तै पद्मश्री साधना सम्मान साहित्यकार ध्रुवचन्द्र गौतमलाई अर्पण गर्ने निर्णय गरिएको छ ।
पद्मश्री साहित्य सम्मान वि.स.२०६३ सालदेखि प्रत्येक वर्ष नेपाली साहित्यका वर्षभरि प्रकाशित उत्कृष्ट कृतिलाई अर्पण गर्दै आएको छ ।
यो कथासङ्ग्रहका कथाहरूमा जीवनको भित्री तहसम्म पुगेर जीवनका विसङ्गत पक्षहरूलाई अत्यन्त सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ ।
आञ्चलिकता, प्रयोग, बहुलता र व्यङ्ग्यचेत र मनोवैज्ञानिक पक्ष गहिरो रूपमा प्रस्तुत भएको छ ।
साथै यस पुस्तकमा जीवनका निर्मम पक्षहरूलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ ।
यो पुरस्कारको राशी दुई लाख रहेको छ ।
यो सम्मान यसअघि गणेश रसिकको ‘दशगजामा उभिएर’, भानुभक्त पोखरेलको ‘हिमवत्’ खण्ड, कृष्ण बरालको’समय हराएको बेला’, धु्रव सापकोटाको ‘अकल्पनीय’ र अमर न्यौपानेको ‘पानीको घाम’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ र रवीन्द्र समीरको ‘अर्जुनदृष्टि’, खगेन्द्र सङ्ग्रौलाको ‘आफ्नै आँखाको लयमा’ र शारदा शर्माको ‘ताप’ पुस्तकलाई अर्पण गरिएको थियो ।
उहाँले झन्डै पाँच दशकदेखि कथा, उपन्यास, नाटक र संस्मरणका माध्यमबाट नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ ।
उहाँका कृतिहरूमा आञ्चलिकता र प्रयोगका विभिन्न आयामहरू पाइन्छन् । विशेष गरी तराई र मधेशको जीवनशैली उहाँको आख्यानमा पाइन्छ ।
श्यामव्यङ्ग्य र सहज तरिकाले कथा भन्ने उहाँको आफ्नै विशिष्ट प्रकारको शैली छ । यस सम्मानको राशी रु एक लाख रहेको छ ।
यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दीक्षित र संस्कृतिविद् सत्यमोहन जोशीलाई अर्पण गरिएको थियो ।
दुवै सम्मान कोजाग्रत पूर्णिमाको दिनमा अर्पण गरिन्छ ।






