असनेपाल न्युज सम्बाददाता/
भदौं ७ , काठमाडौं – नेपाली झन्डालाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज गर्न काठमाडौँमा इतिहासमै नौलो काम गरिएको छ । आज हजारौं मानिसको सहभागितामा नेपालको राष्ट्रिय झण्डा बनाइ प्रदर्शनी गरिएको छ । स्कुल तथा कलेजका बिद्यार्थी तथा अन्य युवा स्वयंसेवीका रुपमा मानव झण्डा निर्माणमा सहभागी थिए । ३५ हजार १६ मानिसले नेपालको झण्डाको आकृति बनाएको आयोजकले जनाएको छ ।

नेपाली राष्ट्रिय झण्डाको लम्वाई १ सय ६० मिटर र चौडाइ १ सय २६ मिटरको बनाइएको थियो । कार्यक्रममा सहभागीले नेपाली झण्डाको रंग अनुसारको प्लेकार्ड १० मिनेटसम्म उचालेका थिए । रातो, निलो र सेतो रंगका साना साना प्लेकार्ड उचालेर नेपाली झण्डा बनाइएको हो ।
सो प्रदर्शनीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिले अवलोकन र मापन गरेको आयोजक संस्थाले जनाएको छ । विश्व रेकर्डमा पाकिस्तानमा २९ हजार ९ सय ५७ पाकिस्तानीहरुले मानव झण्डा बनाइ सकेका छन् । त्यो रेकर्ड नेपालबाट तोड्न टुँडिखेलमा प्रदर्शनी गरिएको हो ।
मानव निर्मित झन्डाको कार्यक्रम बिहान ६ बजे सुरु भएर ९:३० बजेसम्म प्रदर्शन गरेर समापन गरिएको थियो।









