सुनकोशी पहिरोबाट पीडितको उद्धारमा ढिलाई नगर्न एमाओवादीको आग्रह

साउन १७ ।काठमाडौँ, एकीकृत नेकपा माओवादीले सिन्धुपाल्चोकस्थित सुनकोसी नदी थुनिएको लामो समय भईसक्दासमेत उद्धार कार्यमा ढिलाइ भएको भन्दै आपत्ति जनाएको छ ।

एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले गएराति घटेको घटनामा जनधनको क्षति भएकालाई उचित उद्धार कार्यमा सरकारी संयन्त्रको परिचालन फितलो भएको भन्दै आपत्ति प्रकट गरेको हो ।

नदी थुनिएको लामो समय भईसक्दासमेत उद्धार कार्यमा ढिलाइ भएको भन्दै तत्काल सो कार्यमा गति दिन र घरबारविहीन भएकालाई राहत प्रदान गर्न आग्रह गर्नुभयो ।

उहाँले छिमेकी जिल्ला र सोही जिल्लाका पार्टी कार्यकर्तालाई पनि उद्धार राहत कार्यमा खटिन पार्टी हेडक्वाटरको तर्फबाट निर्देशन दिइसकिएको जानकारी दिनुभयो ।

आइतबारबाट हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तहमा संवादको ढोका खुल्ने विश्वास व्यक्त गर्दै उहाँले अधिकभन्दा अधिकरुपमा नेपालले फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।

“भ्रमणलाई समान्य औपचारिकतामा सीमित गरिनु हुँदैन, दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा उनन्त बनाउनुपर्दछ, त्यसका लागि सरकार, राजनीतिक दल र सरोकारवालाले विशेष ध्यान दिनुपर्दछ”, प्रवक्ता शर्माले भन्नुभयो ।

मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि विद्युत् व्यापार सम्झौता आवश्यक रहेको धारणा राख्दै उहाँले परियोजना विकास सम्झौता(पिडिए)का सम्बन्धमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नुभयो ।

संविधान निर्माणको प्रक्रियाले गति लिएको भन्दै उहाँले तोकिएको समयमा नै संविधान जारी हुने आशा पलाएको विश्वास व्यक्त गर्नुभयो ।

 

सम्बन्धित शिर्षकहरु