एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/
साउन १४, काठमाडौँ- सन् २०२२ मा विश्वकप फूटबल प्रतियोगिता गर्न गैरहेको कतारले आप्रबासी कामदार ठगेको अर्को समाचार बाहिर आएको छ । बेलायत बाट प्रकाशन हुने अंग्रेजी पत्रिका द गार्जियनका अनुशार विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजकले बनाउँदै गरेको सुविधा सम्पन्न अफिस निर्माणमा संलग्न कामदारहरूले एक वर्षभन्दा लामो समयदेखि तलब पाएका छैनन् ।

लामो अनुशन्धान र अध्यन बाट यो कुरा पत्ता लगाएको भन्दै पत्रिकाले ती कामदारको दैनिकी कष्टकर र दयनीय रहेको बताएको छ । त्यहाँ कार्यरत कामदारको पासपोर्ट उनीहरुको साथमा छैन । उनीहरुको पासपोर्ट र अन्य कानुनी कागजात कम्पनीले नै राखेको छ । जसका कारण तलब नपाए पनि उनीहरु घर फर्कन वा अन्यत्र काम गर्न असमर्थ छन् ।
पत्रिकाले भनेको छ, ‘यसरी काम गरिरहेका कामदारहरू अहिले गैरकानुनी हैसियतमा छन र उनीहरूको खानपान तथा बसोबास पनि अत्यन्तै अस्वस्थकर छ।’ पत्रिकाले जनाएअनुसार यसरी तलव नपाउने कामदारहरूमा नेपाल, भारत र श्रीलङ्काका छन्।
तलबको स्केल पनि अत्यन्त कम भएको बताउदै पत्रिकाले कतारले आप्रबासी कामदारप्रति अमानवीय शोषण गरेको आरोप समेत लगाएको छ । उनीहरुले घन्टाको ४५ सेन्ट भन्दा पनि कम आम्दानी गर्ने गरेको गर्जियानले खुलाशा गरेको छ ।







