साउन १३ । राष्ट्रपति डा रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका
समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा राष्ट्रपति डा यादवले लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी भाइचारा अभिवृद्धि गर्न सहयोग पुर्याउने यस चाडले मुसलमान समुदायमा विशेष महत्व राख्ने उल्लेख गर्नु भएको छ ।
त्यसैगरी उपराष्ट्रपति परमानन्द झाले पनि सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विको कामना गर्दै यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले इद उल फित्रका अवसरमा शुभकामना सन्देशदिदै स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुसलमान समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
काँग्रेसका उपसभापति रामचन्द्र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले पनि शुभकामना सन्देशदिदै देश तथा विदेशमा रहेका सबै नेपाली मुसलमान दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।







