काठमाडौ, राष्ट्रपति डा. रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नु भएको छ ।
राष्ट्रपतिले आईतवार नीति तथा कार्यक्रम बाचन गर्दै नेपाली जनताको चाहना अनुसार नयाँ संविधान निर्माण आधुनिक नेपालको प्रस्थान विन्दु हुने बताउनु भयो ।
राष्ट्रपति यादवले संविधान निर्माणमा आम सहमति कायम गर्नु पर्नेमा जोड दिदै दलहरुलाई सहमति कायम गर्न सुझाव दिनु भयो ।
आफ्नो मन्तब्यको क्रममा उहाले संविधानसभाको चुनाव शान्तिपूर्णरुपमा सम्पन्न गराएकोमा सबैलाई धन्यवाद दिँदै अब संविधान निर्मार्णमा ध्यान केन्द्रीत गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।
राष्ट्रपतिले बाचन गरेको नीति तथा कार्यक्रममा यही आर्थिक वर्षभित्र स्थानीय निकायको चुनाव सम्पन्न गर्ने र नयाँ संघीय संरचनाहरु नबनुञ्जेल स्थानीय स्वशासनका लागि निर्वाचन अपरिहार्य भएको तर्क गरिएको छ ।
त्यसैगरी वेपत्ता छानविन र सत्य निरुपण तथा मेलमेलिाप आयोग शीघ्र गठन गर्ने, शहीद एवं द्धन्दपीडितलाई राहत र क्षतिपूर्तिद्धारा सम्मान र सम्बोधन गर्ने उल्लेख छ ।
त्यसैगरी मानव अधिकार एवं कानूनी शासनको प्रत्याभूति गराउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिने, भ्रष्टाचारको जोखिममा रहेका क्षेत्र पहिचान गरी भ्रष्टाचार नियन्त्रणको लागि निरोधात्मक उपाय अपनाइने, राष्ट्रिय सर्तकता केन्द्रलाई सबल बनाइने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्रोत र सुविधा अभाव हुन नदिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
संसदमा राष्ट्रपति प्रवेश गरेपछि सभामुख दाहिनेबाट र राष्टपति देब्रतर्फको बाटोबाट रोष्ट्रममा पुगेका थिए । त्यसपछि सभामुखले बैठक सञ्चालन गर्दै कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमलाई सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिलाई सम्बोधनका लागि हस्तान्तरण गर्न समय दिनु भयो ।






