११ महिनामा सवा २५ अर्वको खानेकुरा मात्र आयात गरेछौ हामीले

असनेपाल न्युज सम्बाददाता/

साउन ७ , काठमाडौं-  कृषि प्रधान देश नेपाल । तर कृषि प्रधान देशमा नै कृषिजन्य खाध्य बस्तुको आयातमा बर्षेनी बृद्दी हुदै छ । हुदा हुदा बिगत एघार महिनामा त हामीले सवा २५ अर्व भन्दा बढीको खाद्यान्न मात्र आयात गरेका छौ । हालै व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले यो तथ्यांक सार्वजनिक गरेको हो ।

कृषि विकास मन्त्रालयले उत्पादनमा बृद्दी भएको बताइरहदा खाद्यवस्तुको आयात अस्वभाविक रुपमा बढेको तथ्य बाहिर आएको छ ।  मन्त्रालयले आर्थिक वर्ष २०७०/०७१ मा मुलुभित्र खाद्यन्न उत्पादन ९.४३ प्रतिशतले वृद्धि भएको अनुमानित तथ्यांक सार्वजनिक गरेको छ । उत्पादन बढेपछि ७ लाख ८९ हजार ८९० मेट्रिक टन खाद्यन्न बचत भएको समेत मन्त्रालयले अनुमान लगाएको छ ।  उपभोक्ताको माग पुरा भई खाद्यन्न बचत भएको बताइरहँदा विदेशबाट ११ महिनाको अवधिमा २५ अर्ब २४ करोड ८८ लाख रुपैयाँ बराबरको खाद्य वस्तु आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२ प्रतिशतले बढी हो ।

कृषि प्रधान मुलुक भनिने नेपालको वर्षेनी खाद्य वस्तुमा परनिर्भरता बढ्दै गइरहेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको पछिल्लो तथ्यांकले देखाउँछ । केन्द्रका वरिष्ठ अफिसर कृष्णराज बजगाईंका अनुसार विदेशबाट मुख्यतः धान, मकै, कोदो, गहुँ, जौं, चामल, जुनेलो लगायतका खाद्य वस्तुहरु आयात भएका छन् ।  कृषि मन्त्रालयले गत आर्थिक वर्षमा धान ५० लाख ४७ हजार,  मकै २२ लाख ८३ हजार, कोदो ३ लाख ४ हजार गहुँ १८ लाख ८३ हजार, जौं ३४ हजार र फापर १० हजार मेट्रिक टन उत्पादन भएको अनुमान गरेको छ ।  मन्त्रालयले खाद्यन्नको कुल उत्पादन ९५ लाख ६२ हजार मेटि्रक टन हुने र उपभोग्य परिमाण ६० लाख ८५ हजार ७ सय ७६ मेटि्रक टन रहने अनुमान लगाएको छ । जबकी यस अवधिमा ५२ लाख ९५ हजार ८८६ मेट्रिक टन खाद्यन्नको माग भएको बताइएको छ ।  खाद्यन्न आयात भने हरेक वर्ष बढ्दै गइरहेको छ । अघिल्लो आर्थिक वर्ष २०६९/७० मा २० अर्ब ९२ करोड ३४ लाख रुपैयाँ बराबरको खाद्य वस्तुहरु विभिन्न मुलुकबाट आयात गरिएको थियो । समिक्षा वर्षमा यहि गतिमा आयात बढे २८ अर्ब रुपैयाँ बराबरको खाद्य वस्तु आयात हुने देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा साढे ७ अर्ब रुपैयाँले बढी हुने छ ।

सम्बन्धित शिर्षकहरु