अष्ट्रेलियाको मेलबर्नमा खोजि हुदै छ एड्सको औषधि

एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/

असार ६, काठमाडौँ – अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ।

विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको औषधिका बारेमा परामर्श गरिरहेका छन्।

हाल प्रचलनमा रहेको यस सङ्क्रमणको औषधिले रोग निको हुन नसक्ने भएकोले यस रोगको उपचारको खोजी विश्वव्यापी रुपमा जारी नै छ। यस पटकको विश्व एचआइभी एड्स सम्मेलनमा पनि यो रोगको उपचारको बारेमा व्यापक छलफल एवम् परामर्श भएको हो।

वैज्ञानिकहरुले केही समय पहिला छ जना एचआएभी संक्रमितहरुमा गरिएको परीक्षणबाट उपचारमा केही सफलता हातलाग्ने देखिएको सो सम्मेलनमा बताएका छन्। यस परीक्षण र यसको उपचार विधिलाई ‘किक एन्ड किल’ नाम दिइएको छ । वैज्ञानिकहरुले यस विधिका लागि पनि यसअघि देखि संक्रमितको आयु बढाउने काममा प्रयोग गरिँदै आएको औषधि एन्टीरेक्टोभाइरलकै सहारा लिइने बताएका छन्।

सो औषधिको माध्यमबाट एचआइभी भाइरललाई विरामीको रगतको तल्लो तहसम्म ल्याइने र रगतमा रहेका एड्सका ह्युमन इम्युनो डिफिसियन्सी भाइरसलाई एक विशेष प्रकारको थेरापीको माध्यमबाट शरीर बाहिर निकालिने छ।

तर त्यो थेरापी केही महँगो र जटिल प्रकारको हुने वैज्ञानिकहरुको भनाई छ। उनीहरुले यस थेरापी दिनहूँ गर्नुपर्ने र झन्झिटिलो भएको भने स्वीकारेका छन्। सो थेरापी रोकेपछि भने एचआइभीका किटाणुहरु पुनः सक्रिय हुने र उनीहरुले थेरापी रोकेको दुई हप्तापछिदेखि नै विरामीलाई आक्रमण सुरु गर्नसक्ने पनि सो परीक्षणले देखाएको छ।वैज्ञानिकहरुले सो औषधि उपचारको अनुसन्धान विगत तीन वर्षदेखि निरन्तर रुपमा गरिरहेका छन्। उनीहरुको यो परीक्षण साइड इफेक्ट गर्नसक्ने प्रकारको भएको पनि उनीहरुकै अनुसन्धानबाट देखिएको छ।एचआइभी एड्सलाई निको पार्ने औषधि अहिलेसम्म विश्वका कुनैपनि देशका वैज्ञानिकले पत्ता लगाउन सकिरहेका छैनन्।

उनीहरुले पत्ता लगाएको एन्टीरेक्टो भाइरल नामको औषधिले यो संक्रमण निको पार्ने नभई सङ्क्रमितको आयु केही समयसम्म पर धकेल्नसक्ने छ।तर यही औषधिको प्रयोगपछि पनि सङ्क्रमितहरुको अवस्थामा परिवर्तन ल्याउन तथा यो रोगको संक्रमण दर घटाउन मद्दत पुगेको राष्ट्रसंघीय एड्स कार्यक्रमले जनाएको छ।

सम्बन्धित शिर्षकहरु