अष्ट्रेलियामा नेपालका लागि देउसी भैलो

महेश्वर शर्मा
असनेपालन्युज ,

सिड्नी, अष्ट्रेलियाका विभिन्न सहरमा नेपालका लागि देउसी भैलो कार्यक्रम आयोजना गरिएको छ । प्रवासमा नेपालको न्याँस्रो मेटाउन तथा नेपाली मौलिक कला संस्कृतिको जगेर्ना एवम् उत्थानका लागि उनीहरूले देउसी भैलोको आयोजना गरेको जानकारी दिएका छन् । अष्ट्रेलियाको सिड्नी, मेलवर्न, पर्थ, एडिलेड, भिक्टोरिया र न्यू साउथवेल्स लगायतका राज्यमा देउसी भैलोको आयोजना गरिएको छ ।

यसैक्रममा सिड्नी नेपिण्डो(NEPINDO) र  युथ फर चेन्ज (YFC) नेपालले  पनि सिड्नीमा देउसी भैलोको आयोजना गरेका छन् । नेपालमा एचआइभी एड्स लागेका अभिभावक र तिनका बालबच्चाहरूको सहयोगार्थ देउसी तथा भैलोको आयोजना गरिएको संस्थाका अध्यक्ष विजय पोखरेलले जानकारी दिए । उनका अनुसार देउसीभैलो सांस्कृतिक निरन्तरता मात्र नभएर नेपालको सहयोगार्थ पनि कार्यक्रम आयोजना गरिएको हो । त्यस्तै उनले देउसी भैलो जस्ता कार्यक्रमले नेपालका कला र संस्कृतिको प्रवद्र्धन हुने पनि जानकारी दिए ।

अष्ट्रेलियाका विभिन्न सहरमा यसैगरी देउसी भैलो कार्यक्रमको आयोजना भइरहेको खबर छ । विशेष गरेर नेपालमा गएको विनासकारी भूकम्पको पुनर्निर्माण तथा नेपालका विभिन्न क्षेत्रका लागि विविध सहयोग जुटाउन त्यसरी देउसी भैलो आयोजना भइरहेको बताइएको छ ।

यसैगरी शुक्रबारको भाइटिकाका लागि पनि अष्ट्रेलियाबासी नेपाली समुदाय तम्तयार छन् । दाजुभाइ हुनेले सामुहिक रुपमा र नहुनेले पनि दिदीबहिनी बनाएर टिका ग्रहण गर्ने तयारी गरिरहेको उनीहरूले बताएका छन् । नेपाली समुदायको बाहुल्यता रहेका क्षेत्रहरूमा दीपावलीको विशेष रौनक देख्न सकिन्छ ।

सम्बन्धित शिर्षकहरु