ब्राजिललाई पराजित गर्दै जर्मनी विश्वकप फुटबल फाइनलमा

असार २५ ।काठमाडौँ,विश्वकप फुट्बल प्रतियोगिताका आयोजक ब्राजिललाई पराजित गर्दै जर्मनी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलको बेलो होरिजोन्तेमा रङ्गशालामा आज बिहान भएको खेलमा जर्मनीले ब्राजिललाई ७-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको हो ।

विश्वकपको इतिहासमा नै जर्मनीले ब्राजिललाई यति फराकिलो गोल अन्तरले पराजित गरेको यो पहिलोपटक हो भने सेमिफाइनल खेलमा सात गोल गर्दै जर्मनीले नयाँ कीर्तिमानसमेत कायम गरेको छ । हालसम्मको विश्वकप यात्रामा कुनै पनि टोलीले सात गोल गर्न सकेका छैनन् ।

यस्तै जर्मनीले फराकिलो अन्तरले जित हासिल गरेको यो दोस्रोपटक हो । यसअघि सन् २००२ मा भएको विश्वकपमा जर्मनीले साउदी अरेबियालाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।
यस जितसँगै जर्मनी १२ वर्षपछि फाइनल चरणमा प्रवेश गरेको हो । यसअघि सन् २००२ मा भएको विश्वकपमा जर्मनी फाइनलमा पुगेको थियो ।
विश्वकप फुटबलको इतिहासमा ब्राजिलको यति फराकिलो गोल अन्तरले पराजित भएको पनि पहिलोपटक हो । यसअघि सन् १९९८ मा ब्राजिल फ्रान्ससँग ३–० गोलअन्तरले हार बेहोरेको थियो ।
जर्मनीको जितमा आन्द्रेइ स्क्रुल र टोनी क्रुजले समान दुई–दुई गोल गरे भने थोमस मुलर, सामी खडीरा तथा मिरास्लाभ क्लोजले समान एक–एक गोल थपे ।
जर्मनीका मुलरले खेल सुरुवाती ११ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेपछि जर्मनीले लगातार गोल बर्सायो । क्लोजले खेलको २२ औँ मिनेटमा एक गोल थपे । क्लोजले गोल गरेको दुई मिनेट पनि बित्न क्रुजले लगातार दुई गोल थपे । उनले खेलको २४ र २५ औँ मिनेटमा गोल गरे ।
यस्तै जर्मनीका अर्का खेलाडी खडीराले खेलको २९ औँ मिनेटमा एक गोल थपेपछि जर्मनले खेलको पहिलो हाफसम्म ५–० गोलको अग्रता बनायो । खेलको दोस्रो हाफमा ब्राजिल गोल फर्काउन निकै प्रयासरत रहे पनि उल्टो दोस्रो हाफमा दुई गोल खायो ।
खेलको ६९ औँ र ७९औँ मिनेटमा क्रुजले दुई गोल थप्दै जर्मनीलाई ७–१ को सहज जित दिलाए । यस जितसँगै जर्मनीका खेलाडी मिरास्लाभ क्लोजले सबैभन्दा बढी गोल गर्ने खेलाडीको नाममा नयाँ कीर्तिमान कायम गरेका छन् ।
उनले विश्वकपमा १६ गोल गर्दै सबैभन्दा बढी गोल गर्ने खेलाडीका रुपमा नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि उक्त कीर्तिमान ब्राजिलका स्ट्राइकर रोनाल्डोको नाममा थियो । रोनाल्डोको गोलसङ्ख्या १५ रहेको छ ।
ब्राजिलका लागि भने ओस्कारले खेलको अन्तिम समयमा एक सान्त्वना गोल फर्काएका थिए । छैटौँपटक उपाधि जित्ने लक्ष्य बोकेर मैदानमा उत्रेको ब्राजिल आफ्ना लाखौँ समर्थकलाई रुवाउँदै प्रतियोगितामा ७–१ को लज्जास्पद हार बेर्होन बाध्य बन्यो । यही असार २८ गते ब्राजिलले तेस्रो स्थानका लागि भिड्नेछ ।

सम्बन्धित शिर्षकहरु