असार १७ । काठमाडौं, पर्यटनमन्त्री भीम आचार्यले नेपाल वायुसेवा निगममा देखिएको गैरजिम्मेवार प्रवृत्तिलाई तत्कालै निर्ममताका साथ बदल्नुपर्ने बताउनु भएको छ ।
राजधानीमा आज आयोजित वायुसेवा निगमको ५६ औं वाषिर्कोत्सव समारोहमा मन्त्री आचार्यले नेपाल वायुसेवा निगको ५६ वर्षे यात्रामा गौरव गर्ने ठाउँ नरहेको गुनासो गर्नु भयो ।
उहाले हरेक वर्ष एउटा/एउटा वटा जहाज थप्दै आएको भए ५६ वटा पुग्ने बेलामा निगम जहाजविहीन जस्तै हुनु दुःखद भएको बताउनु भयो ।
मन्त्री आचार्यले जहाजको चक्का हराउने,प्यासेन्जरको समान हराउने, कहिले सामान बिग्रिने जस्ता घटनाबाट निगम अगाडी बढ्न नसक्ने दावी गर्नु भयो ।
वायुसेवा निगमले आन्तरिक उडानमा मात्र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नु परेको भन्दै मन्त्री आचार्यले केही वर्षभित्रमा अन्तर्राष्ट्रिय उडानमा पनि निजी क्षेत्रसँग प्रतिस्पर्धामा गर्नुपर्ने वाध्यत्मक स्थिति आउनेतर्फ बेलैमा सचेत हुन आग्रह गर्नु भयो ।
उहाले यसरी प्रतिस्पर्धामा उत्रिन निगमलाई अझै थप २ वटा न्यारो बडी र २ वटा वाइड बोडी जहाज आवश्यक रहेको बताउनु भयो ।
उहाले दुई महिनादेखि जहाज खरिद गर्ने निर्णय सञ्चालक समितिबाट गर्न आग्रह गरेपनि निगमले अटेर गरेको जानकारी दिनु भयो ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि २०१५ मा एयरवसका २ वटा न्यारो बडी जहाज ल्याउन लागेको भन्दै उनले थप ४ वटा जहाज ल्याउनुपर्नेमा जोड दिनु भयो ।







