कात्तिक २३ । काठमाडौं, नेपालसँग सीमा गाँसिएको भारतको बिहारमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) र उसको गठबन्धनले नराम्रो पराजय बेहोरेका छन्। आइतबार घोषित परिणामअनुसार कंग्रेस आई, जनता दल युनाइटेड (जेडियु) र राष्ट्रिय जनता दल (राजद) को महागठबन्धनले लोभलाग्दो जित हात पारेका छन्।
महागठबन्धनले २ सय ४३ मध्ये १ सय ७८ अर्थात दुई तिहाइ सिट जितेको छ। जसमध्ये लालु यादवको पार्टी आरजेडीले ८०, पूर्व मुख्यमन्त्री नितिशकुमारको पार्टी जेडियुले ७१ तथा कंग्रेस आईले २७ सिटमा विजय हासिल गरेका छन्। महागठबन्धनले सन् २०१० मा भएको चुनावभन्दा ३७ सिट बढी जितेको हो। भाजपा र सहयोगी दलले भने ३४ सिट गुमाएका छन्। अन्यले तीन सिट गुमाए। यो चुनावमा पनि अघिल्लो चुनावमा झैं कम्युनिस्टहरू बढारिएका छन्,नागरिक दैनिक लेख्छ।
महागठबन्धनको यो जितसँगै नीतीशकुमार तेस्रोपटक बिहारको मुख्यमन्त्री हुने पक्का भएको छ। गएका १० वर्षमा बिहारले गरेको प्रगतिमा प्रत्यक्ष भूमिका खेलेका नीतीश पुनः सत्तामा आउने भएका हुन्। गत वर्ष राष्ट्रिय (लोकसभा) चुनावमा भाजपाको आँखा तिल्मिलाउने गरी जित हासिल गरेपछि नैतिकताका आधारमा नीतीशले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
महागठबन्धनको जितपछि नीतीशले लालु यादवको घर गई उनलाई बधाई दिएका थिए। लालुले पनि मिलेर सरकार चलाउने र बिहारको विकासलाई गति दिने जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित साहले पनि लोभलाग्दो विजयका लागि बधाई दिएका छन्।
पाँच चरणमा भएको बिहार विधानसभा चुनाव १२ अक्टोबरमा सुरु भएको थियो भने ५ नोभेम्बरमा अन्तिम चुनाव भएको थियो। चुनावमा २ सय ७२ महिलासहित ३ हजार ४ सय ५० प्रत्यासीले आफ्नो जनमत जुटाउन २ सय ४३ स्थानमा चुनाव लडेका थिए। चुनावका लागि ६२ हजार ७ सय ८० इलेक्ट्रोनिक भोटिङ मेसिनका लागि १४ हजार ५ सय ८० कर्मचारी खटाइएका थिए।
यो चुनावलाई यसअघिका सबै चुनावभन्दा ठूलो भएको प्रतिक्रिया चुनाव आयुक्त नसिम जैदीले बताएका छन्। यो अहिलेसम्मकै सबैभन्दा बढी ५६.९४ प्रतिशत मतदान भएको चुनाव बन्न पुगेको छ। २०१० को विधानसभा चुनावमा ५२.६५ प्रतिशत र गएको वर्ष भएको लोकसभा चुनावमा ५५.३८ मतदान भएको थियो।
२०१० को विधानसभा चुनावमा जेडियु र बिजेपीले सँगै चुनाव लडेका थिए। जेडियुले १ सय १५ सिट पाएको थियो भने बिजेपीले ९१ सिट। आरजेडी २२ सिटमा सीमित भएको थियो भने कंग्रेस आईले जम्मा ४ सिट जितेको थियो। सन् २०१४ को लोकसभा चुनावमा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएपछि जेडियु र बिजेपीको गठबन्धन तोडिएको थियो।
एजेन्सीका अनुसार यो जितले राष्ट्रिय स्तरमै प्रभाव पर्ने नीतीशकुमारले बताएका छन्। यो परिणामसँगै जनता सशक्त प्रतिपक्षको पक्षमा रहेको देखिएको उनको भनाइ छ।
बिहार हारको अर्थ
भारतको तेस्रो ठूलो जनसंख्या भएको बिहारमा बिजेपीको नराम्रो पराजयले मोदीको दोस्रो चरणको प्रधानमन्त्री हुने आकांक्षामा ठेस लागेको विश्लेषकहरूले बताउन थालेका छन्।
यो हारले मोदीको आर्थिक सुधारको एजेन्डालाई प्रभाव पार्नेछ। साथै ‘बाहिरियाले शासन गर्ने कि बिहारीले शासन गर्ने’ भन्ने नारा उरालेका कारण जनताले केन्द्रको हस्तक्षेपलाई अस्वीकृत गरेजस्तो देखियो।
बिहारमा धर्म, घृणा र पिछडिएको देखाउन चाहने बिजेपीलाई जनताले तह लगाएको केहीको विश्लेषण छ। प्रधानमन्त्री मोदीले चुनाव भाषणको क्रममा नीतीशकुमारको डिएनएमा गलत भएको, लालु यादव ‘सैतान’ भएको र यी दुईको जोडीसँग राहुल गान्धी मिलेर ‘थ्री इडियट्स’ चुनाव लड्न आएको बताएका थिए। यस्तो अपमानजनक भाषा प्रयोग गर्दै राजनीतिक शत्रुता साँधेका मोदीले भोलिका दिनमा नीतीशकुमारसँगै काम गर्नुपर्नेछ।
बिहार चुनाव परिणामपछि पाकिस्तानमा पटाका पड्काइनु र नेपालमा खुसियाली मनाइनु पक्कै पनि गतिलो राजनीति गरेको होइन भन्ने केहीको बुझाइ छ। अर्कोतर्फ बिहार बुझेकाहरूले यो चुनावमा लालु–नीतीशको जितभन्दा पनि मोदीको हारका रूपमा बुझ्नेहरू बढी छन्।
बिहार हारपछि बिजेपीभित्र विद्रोह हुने सम्भावना बढेर गएको छ। शत्रुघ्न सिन्हाले बिजेपी अध्यक्ष अमित शाहले यस हारको जिम्मेवारी लिनुपर्ने बताउँदै पार्टीभित्र गएको भुइँचालोलाई इसारा गरिरहेका छन्। यससँगै बिजेपीमा ‘मोदी डर’ घटेको छ भने मोदीलाई आफ्नो प्रभाव कायम राख्ने चुनौती बढेको छ। अर्कोतर्फ बहुमतको ध्वाँस दिँदै प्रधानमन्त्री मोदी र बिजेपीले विपक्षीहरूलाई गन्दा पनि गनेका थिएनन्। यसको बदला अब कंग्रेस र अन्य दलको गठबन्धन विपक्षीले सरकारले ल्याउने हरेक मुद्दालाई खारेज गर्ने सम्भावना पनि बढेको छ।
किन हार्यो बिजेपी?
कुनै पनि राज्यस्तरीय चुनावका लागि प्रधानमन्त्री नै दौडाहामा गएको यो पहिलोपटक थियो। यसबीच बिजेपीका दोस्रो तहका नेताहरूले हिन्दुत्वका नाममा असहिष्णु टिप्पणी गर्न थाले। त्यस्तै दादरीमा एक जना मुस्लिमलाई गाईको मासु खाएको आरोपमा कुटेर मार्दा पनि प्रधानमन्त्री मोदीले मौनता साँधे। त्यसले विकासको नाराबाट बिजेपी पछि पर्दै जातिगत समीकरण र धार्मिक ध्रुवीकरणमा गएको केही विश्लेषकको धारणा छ। बिजेपीले यसलाई सच्याउने प्रयास गर्दा निकै ढिलो भइसकेको थियो। त्यस्तै महागठबन्धनले विकाससँगै सामाजिक न्यायलाई जोड दिएको थियो। तिनका मुख्यमन्त्री नीतीश भन्ने पहिल्यै तय थियो। उता बिजेपीको चाहिँ मुख्यमन्त्री को हुने भन्ने तय थिएन। सम्भावित अनुहार पनि प्रभावशाली थिएनन्। नीतीशको भाषण नरम थियो, मोदीको कडा। यसले बिजेपीलाई हराउने काम गर्योा।
नीतीशकुमारको तेस्रो मुख्यमन्त्रीत्व सफल भएको खण्डमा मोदीको विकल्पका रूपमा अगाडि आउने सम्भावना बढेर गएको छ। अमर्त्य सेनको विकास मोडललाई उनले अघि बढाउने सम्भावना छ। यसअघि गुजरातमा भगवती मोडल प्रयोग गर्दै मोदीले आफ्नो सशक्त उपस्थिति देखाएर राष्ट्रिय राजनीतिमा उदाएका थिए।
यसअघि नयाँ दिल्लीमा भएको चुनावमा बिजेपीले नराम्रो हार बेहार्नुपरेको थियो। बिहारमा समेत हारेर यसले अर्को वर्ष पश्चिम बंगाल, असम र उत्तर प्रदेशमा हुने चुनावमा कसरी उभिने भन्ने समस्या सिर्जना भएको छ।








