एजेन्सी- अष्ट्रेलियाको राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक बन्दै, कुनै धर्म नमान्ने जनसंख्या ४० प्रतिशत, हिन्दु र इस्लाम धर्म मान्नेको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। अस्ट्रेलियाले ५ वर्षपछि मंगलबार राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक गरेको छ । जनगणनामार्फत अस्ट्रेलियाले आफ्नो देशको जनसंख्या करिब २६ करोड रहेको तथ्यांक मात्र दिएन कि परम्परागत शैली बदल्दै गएको विवरणसमेत सार्वजनिक गरिएको छ।

यो जनगणना विवरण पश्चात् अस्ट्रेलियाले आफुलाई सफल बहुसांस्कृतिक राष्ट्रका रूपमा विकसित हुँदै गएको आफ्नो परिचयलाई पुष्टि गरेको छ।
कोरोना भाइरसको संक्रमणपछि पनि आर्थिक क्षेत्रमा पाएको सफलता, सामान्य कामदारको औसत साताको आम्दानी, झन्डै ४० प्रतिशत जनता नास्तिक रहनु, २ सय ५० बढी वंशज तथा पुर्खाको सूचनालाई समावेश गरिनु र ३ सय ५० भाषालाई जनगणनामा समेटेर अस्ट्रेलियाले आफ्नो विविधताको परिचय दिएको हो ।
त्यस्तै धर्मप्रति आस्था राख्ने कम हुनु, आदिवासीको संख्यामा वृद्धि हुनु, विविधता थपिनु लगायत विषयका अस्ट्रेलिया परिवर्तन हुँदै गएको देखिएको बीबीसीले जनाएको छ । त्यसबाहेक पनि अन्य धेरै कुराले अस्ट्रेलियालाई अन्य विभिन्न मुलुकका तुलनामा पृथक बनाएको छ । कुनै पनि धर्मविशेषलाई प्राथमिकता नदिने भए पनि क्रिस्चियन धर्म अपनाउने कम हुँदै गएका छन् भने हिन्दु तथा इस्लाम धर्म मान्ने जनसंख्या यहाँ क्रमिक रूपमा बढ्दै गएको छ । अझ रोचक कुरा त यो पनि छ कि अस्ट्रेलियाका करिब ४० प्रतिशत जनताले अहिलेको जनगणनामा आफु कुनै पनि धर्म नमान्ने बताएका छन् ।
धेरै लामो समय भएको छैन यो देशको इतिहास हेर्ने हो भने करिब १ सय २१ वर्षअघि मात्र संघीय राज्यका रूपमा उदाएको अस्ट्रेलियामा मुख्यतः आप्रवासी नै अत्यधिक संख्यामा बसोबास गर्दै आएका छन् । अस्ट्रेलियामा आप्रवासीले आफ्नो संख्या बढाउनु मात्र हैन कि यहाँ त्यससँगै आफ्नो भाषा तथा धर्मलाई समेत सँगसँगै प्रभावकारी रूपमा अघि बढाइरहेका छन् । तथ्यांक हेर्ने हो भने पनि चीनको मुख्य भाषा मन्डारिन अंग्रेजीपछिको दोस्रो ठुलो भाषा बनेको छ भने झन्डै ३ लाख ७० हजार अरबिक भाषी बसोबास गर्छन् भने २ लाख ४० हजारले पन्जाबी बोल्ने गरेका छन् । कोरोना भाइरसका कारण झन्डै दुई वर्ष आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको भए पनि अस्ट्रेलियालाई १० लाख बढीले आफ्नो घरका रूपमा स्विकारे ।
यहाँको साताको औसत तलबमान पनि अन्य ठाउँको भन्दा तुलनात्मक रूपमा राम्रो रहेको पाइन्छ । अस्ट्रेलियाको औसत हरेक साताको आम्दानी १७ सय ४८ डलर (करिब १ लाख ४५ हजार रुपैयाँ) छ । जसमा पनि पुरुषले २ हजार २५ डलर र महिलाले १८ सय डलर कमाउँछन् । यसले अस्ट्रेलियामा अहिले पनि तलबमा लैंगिक विभेद भने अहिले पनि कायम रहेको देखाएको छ । कोरोनाका कारण अर्थतन्त्रमा नराम्रो असर परेको भए पनि बेरोजगार दर दशकौंको कम अर्थात् ३.९ प्रतिशतमा अस्ट्रेलियाले कायम राख्यो ।
निकै विकसित एवं आफुलाई हरेक क्षेत्रमा अब्बल स्थानमा राखे पनि अर्थात अत्यन्तै राम्रो स्वास्थ्य संरचना र सुविधा भए पनि यहाँका करिब ८० लाख बढी जनता दीर्घरोगका कारण पीडित रहेको तथ्याङ्क अहिलेको जनगणनाले पुष्टि गरेको छ। अष्ट्रेलियामा करिब २२ लाख जनता मानसिक रोगका कारण पीडित छन् ।
यस पटकको जनगणनामा ५ वर्षअघिको भन्दा २५ प्रतिशतले आदिवासीको जनसंख्या बढेको तथ्यांक बाहिर आएको छ । करिब १६ प्रतिशत अस्ट्रेलियाली जनता एकल परिवारका रूपमा बस्ने गरेका छन्, जुन संख्या करिब १० लाख ७० हजार हो । विश्वमै घर खरिद गर्नका लागि कठिन देश बन्दै गए पनि ६६ प्रतिशतले आफ्नै घरमा बस्छन् तर पनि घर सम्पूर्ण रूपमा खरिद गर्ने नागरिक भने जम्मा ३० प्रतिशत मात्र रहेका छन् । अस्ट्रेलियाको तथ्यांक विभागका सहायक तथ्यांकविद् थेरेसा डिकिन्सनले हालै सार्वजनिक तथ्यांक महत्त्वपूर्ण भएको बताएकी छन् ।
अस्ट्रेलिया विकसित मुलुक मात्र नभएर विश्वकै सफल बहुसांस्कृतिक देशका रूपमा चिनिन्छ । यहाँको राज्य तथा केन्द्र सरकारले विभिन्न धर्म तथा कलासंस्कृतिका समुदायले गर्ने कार्यक्रमलाई सहयोग समेत गर्ने गरेको छ । पाँच वर्ष लगाएर तयार गरिएको र गत मंगलबार सार्वजनिक जनगणनाले अस्ट्रेलियाले आप्रवासी, उनीहरूको कलासंस्कृति, भाषा, धर्मले बहुसांस्कृतिक पहिचानलाई अझ बढाउने मात्र नभएर त्यस्ता परिवर्तनले देश विकास हुने प्रमाणसमेत दिएको छ । पछिल्लो पाँच बर्षमा अष्ट्रेलियामा आप्रवासी र उनीहरुको कला संस्कृति, भाषा, धर्मको बाहुल्यता बढ्दै गएको तथ्याङ्क अहिलेको जनगणनाको विवरणले पुष्टि समेत गरेको छ।









