झापामा आगलागी, एकको मृत्यु, १२ जना घाइते

झापा । गएराति झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मेचीनगर नगरपालिका ७ पिपलचोकमा आगलागी भएको हो। आगो निभाउन खोज्दा मेचीनगर–८ का ४५ वर्षीय शारद राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय केशव पाठकको एकतले घरमा आगलागी भएको थियो। आगो निभाउन खोज्दा ग्यास सिलिन्डर पड्किएको थियो। जसले गर्दा आगो निभाइरहेका शारदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले बताए।

त्यस्तै, सिलिन्डर पड्किएपछि आगो निभाइरहेका अन्य १२ जना घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीय लेखनाथ तिमल्सिना, गोविन्दप्रसाद राजवंशी, दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानीशंकर न्यौपाने, हरि विक, निर्मल शर्मा र सुशीला अधिकारी घाइते भएका छन्।

सामान्य घाइते सुशीला अधिकारी उपचारपछि घर फर्केकी छन् भने अन्य ११ जनाको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी पाठकले बताए।

दमकलको सहयोगमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले गएराति नै आगो नियन्त्रणमा लिएका छन्।

सम्बन्धित शिर्षकहरु