अस्ट्रेलियामा १० वर्षमा नेपाली समुदाय ११ गुणाले बढे

कृष्ण तिवारी

सिड्नी । अस्ट्रेलियामा १० वर्षमा नेपाली समुदायको संख्या ११ गुणाले बढेको छ । अष्ट्रेलियामा नेपालबाट आउने नेपालीको संख्या तीव्र दरमा बढिरहेको तथ्याकले देखाएको छ । अस्ट्रेलियन तथ्यांक व्यूरोले दश वर्ष यता नेपाली मुलका अस्ट्रेलियनको संख्या ११ गुणाले वृद्धी भएको बताएको छ ।

सन् २००५ मा ३ हजार ८ सय जना नेपालीमुलका अस्ट्रेलियन भएकोमा सन् २०१५ मा यो संख्या बढेर ४३ हजार ५ सय पुगेको छ । यहाँबाट प्रकाशित हुदै आएको पत्रिका सिड्नी मर्निङ हेराल्डले समाचारमा लेखेको छ, “यो संख्या अस्ट्रेलियामा अन्य देशबाट आएका मानिसको संख्याको तुलनामा नेपालीको उपस्थिति न्यून नै हो, तर पनि वृद्धिदरका हिसाबले नेपालीमूलका अस्ट्रेलियन तीव्र रूपमा बढिरहेका छन् ।

त्यस्तै, नेपालपछि पाकिस्तान, ब्राजिल र भारतमा जन्मिएका अष्ट्रेलियनको संख्या झण्डै तीन गुणाले बढेको तथ्यांकले देखाएको छ ।

पछिल्लो एक सय २० वर्षमा अष्ट्रेलियामा आई बसोबास गर्नेहरूको संख्या तीव्र दरमा बढोत्तरी भएको तथ्यांकले देखाएकोे छ ।

सन् २०१५ मा मात्रै अस्ट्रेलियामा २८ प्रतिशतभन्दा बढी जनसंख्या अन्य देशबाट भित्रिएको तथ्यांकमा उल्लेख छ । यो जनसंख्या सन् १८९५ पछिको सबैभन्दा बढी हो ।

Australia_L2_MISC883

५० ओटा देशमध्ये सर्भियामा जन्मिएका अष्ट्रेलियनको संख्या सबैभन्दा कम र पोल्याण्डमा जन्मिएका अष्ट्रेलियनको संख्या सर्भियाको भन्दा केही बढी छ ।

Screenshot2
माथिको ग्राफ अनुसार, सन् १८९० को दशकमा अस्ट्रेलियामा बाहिरबाट आई स्थायी बसोबास गर्नेहरूको संख्यामा उच्च दरमा बढेको थियो । सिड्नी विश्वविद्यालयका सिनियर लेक्चरल एना बउचरका अनुसार त्यस दशकमा अस्ट्रेलियामा चिनियाँहरुको आवागमन सबैभन्दा उच्च थियो ।

एनाका अनुसार ‘त्यसपछि गोरा अस्ट्रेलियनको उदय भएपछि केही कमन वेल्थका राष्ट्रहरुले बोर्डर बन्द गर्ने काम गरेका थिए । त्यसको प्रत्यक्ष असर बसाईसराईमा परेपछि बृद्धिदरमा गिरावट आयो । २० औं शताव्दीसम्म अस्ट्रेलिया बाहिर जन्मिएका अस्ट्रेलियनको संख्यामा भारी गिरावट आएको थियो ।

तर सन् १९४० पश्चात अस्ट्रेलियाभन्दा बाहिर जन्मिएर अस्ट्रेलिया आउनेको संख्यामा ठूलो परिवर्तन देखियो । अस्ट्रेलियन सरकारले विभिन्न मुलुकबाट बसाईसराई गराई ठूलो संख्यामा आप्रवासी भित्र्याउने नीति पारित गर्यो । यो नीतिले दोस्रो विश्वयुद्ध पछि कमजोर भएको अष्ट्रेलियाको आर्थिक स्थिति जोगाउन अस्ट्रेलियन सरकारलाई ठूलो राहत पुग्यो ।

सो पत्रिकाले एक नेपाली परिवारलाई उल्लेख गर्दै भनेको छ, “नेपालमा जन्मिएकी पुष्पा बेलबासे सन् १९९६ मा आफ्नो श्रीमानसँग अस्ट्रेलिया आएकी थिइन् । सुरुका केही वर्ष उनलाई अस्ट्रेलियामा सेटल हुन निकै गाह्रो भयो,” उनी भन्छिन्, “घर छोड्न निकै कठिन भएको थियो, परिवार अझै उतै छन्, हामीलाई यहाँ सर्पोट गर्ने कोही थिएनन्, तर अहिले अस्ट्रेलिया नै मेरो घर जस्तै भएको छ । सजिलै जीवनयापन गर्न र राम्रो शिक्षा लिन एकदमै सजिलो छ । म यहाँ आएर धेरै खुसी छु ।”

नेपालीहरु अस्ट्रेलियामा ‘माइग्रेसन’ भएर आउने क्रम सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ । नेपाली समुदायकी अगुवा तथा समाजसेवी इन्द्रा वन नेपालीको संख्यामा आएको बृद्धिमा खुसी व्यक्त गर्छिन् ।

सन् १९७५ मा अस्ट्रेलिया आएकी वन भन्छिन्,“अहिले नेपाली विद्यार्थीहरूको अध्ययनको पहिलो गन्तव्य अस्ट्रेलिया बन्न पुगेकाले पनि नेपालीहरुको संख्यामा ह्वात्तै वृद्धि आएको हो । अध्ययन सकेर स्थायी बसोवासका प्रक्रिया पुर्याएर पीआर लिने नेपालीको संख्या वर्षेनी बढेको छ । सन् १९९० देखि अस्ट्रेलियामा नेपाली विद्यार्थीहरु आउन सुरु गरे पनि सन् २००६ देखि भने नेपाली विद्यार्थीको संख्यामा उल्लेख्य रहदै आएको छ ।”

वनका अनुसार अस्ट्रेलियामा रहेका नेपालीहरू मेहनेती, इमान्दार, काम गरेर खाने वर्गमा पर्छन् । जसका कारणले यहाँको सरकारको आँखामा नेपाली समुदायको छवि राम्रो बन्दै गएको छ । आर्थिक हिसावले पनि नेपाली समुदायको स्तर अस्ट्रेलियामा राम्रो मानिँदै आएको छ । व्यापार व्यवसाय वा काम गररै भए पनि नेपाली आर्थिक हिसावले अन्य केही समुदाय भन्दा बढी बलिया छन् ।

अस्ट्रेलिया विदेशबाट आप्रवासी भित्रयाउने देशहरुको सूचीमा चौथो स्थानमा पर्छ ।

स्रोतः बाह्रखरी डटकम

सम्बन्धित शिर्षकहरु