काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अहिलेसम्म चीन पदक तालिकाको शीर्षस्थानमै छ । चीनले ६ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक जितिसकेकाे छ ।
प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा छ । जापानले पाँच स्वर्ण र एक रजत अनि अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ ।
दुई स्वर्ण र तीन कास्यसहित कोरिया चौथो तथा एक स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा छ ।
यसैगरी इटाली, अस्ट्रेलिया, फ्रान्स, हङ्गेरी, ट्युनिसिया, अस्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्बेकिस्तानले एक एक स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ४२ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पराजित भइसकेका छन् । परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।








