मनाङ ‘ए’ डिभिजन लिग च्याम्पियन

काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब आठौं पटक सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सम्पन्न खेलमा संकटा क्लबलाई पराजित गर्दै मनाङले आठौं पटक लिगको उपाधि उचालेको हो।

मनाङले संकटालाई ३–१ ले पराजितगर्दै २ खेल अगावै उपाधि आफ्नो पक्षमा पारेको हो। बिहिबार मनाङको जितमा विशाल राईले महत्वपूर्ण भूमिका खेले। उनी तीन वटै गोलका लागि समावेश भए। उनले सुरुवाती गोल गर्दा उनकै पासमा २ खेलाडीले गोल गरे। संकटाले एक सान्त्वना गोल फर्कायो।

प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरी टुंगिने अनुमान गरिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा मनाङका विशाल राईले कर्णर प्रहार गरेका थिए।

उक्त बल संकटाका गोल रक्षकले रोक्न खोज्दा डिफ्लेक्टहुँदै गोलमा परिणत भएको थियो।

त्यसपछि खेलको ८१ औ मिनेटमा फेरी विशाल राईको कर्णर प्रहारमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका पुजन उपरकोटीले गोलगर्दैै टोलीलाई २–० को अग्रता दिलाए।

खेल सकिँन ३ मिनेटबाँकी रहँदा फेरी विशाल राईको क्रस पासमा एडिलजा सोमिडेले गोल गर्न सफल भए। खेल ३–० मै सकिने अनुमान गरिएको थियो।

तर खेलको ८९ औं मिनेटमा संकटा एक गोल फर्काउन सफल भयो। संकटाका लागि सेन्ड्रिक अबाले गोल गरेका थिए।

आजको खेलसँगै मनाङ आफ्नो ११ औं खेलपनि अपराजित खेल्न सफल भएको छ। लिगमा ३३ अंक जोड्दै शीर्ष स्थान कायम राखेको मनाङलाई अब अन्य टोलीले अंकका आधारमा भेट्टाउन सक्ने छैनन्। पराजित संकटा २५ अंकसहित दोस्रो स्थानमै सीमित भएको छ।

मनाङले यसअघि २०४३, ०४४, ०४६, ०५७, ०६०, ०६२ र ०७० गरि ७ पटक लिगको उपाधि उचालेको थियो। मनाङले पछिल्लोपटक २०७० सालमा भएको ए डिभिजन लिगको अन्तिम खेलमा संकटालाई २–० ले हराएर सातौंपल्ट उपाधि जितेको थियो। त्यसअघि सर्बाधिक लिगको उपाधि विजेता(६ पटक) न्यूरोड टिम आरसीटी लाई पछि पर्दै मनाङ विजेता बनेको थियो।

सम्बन्धित शिर्षकहरु