काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज २१ गतेदेखि सर्वसाधारणका लागि दशैंको नयाँ नोट उपलब्ध गराउने भएको छ । नयाँ नोट लिन लाइनमा बस्ने बाध्यता अन्त्य गर्न उपत्यकाका २२ ठाउँबाट आवश्यक नयाँ नोट साट्न पाइने भएको छ । राष्ट्र बैंकले विभिन्न शाखाबाट नोट उपलब्ध गराउनुका साथै राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखामा पनि नयाँ नोट पाइने भएको छ ।
नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औधोगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही हुने भएको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, बिशालबजार, नक्साल, कलंकी तथा बालाजु शाखाबाट सटही हुनेछ। कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु तथा मंगलबजार शाखाबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ।
एक व्यक्तिले ५, १०, २० र ५० का दुई बण्डल तथा १ सयको १ बण्डल गरी २७ हजार रुपैयाँसम्म सटही गर्न पाउने छन्। असोज २१ गतेदेखि २९ गतेसम्म बैंकिङ समयमा नोट वितरण हुनेछ। उपत्यकाबाहिर राष्ट्र बैंकका बिराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी शाखा कार्यालयबाट नोट सटही हुनेछ । बैंकहरुलाई भने राष्ट्र बैंकले आगामी बिहीबारदेखि नै नयाँ नोट उपलव्ध गराउने भएको छ।









