नेतृत्वले बुझ्यो जवान-जुनियर अधिकृतको पीडा : आइजिपी सर्वेन्द्र खनालको उत्कृष्ट इन्ट्री

काठमाडौं । पहिलोपटक साँच्चीकै हाम्रो पीडा बुझ्ने आइजी साप आएका छन्, अब हामीले पनि आइजिपीको अपेक्षा पूरा गर्नुपर्छ, नत्र कहिल्यै हामीजस्ता तल्लो दर्जाको आवाजको सुनुवाई हुन्न,’ महानगरीय प्रहरी परिसर काठमाडौंका आधा दर्जन प्रहरी जवानबीचका संवाद हुन् यी ।

सोमबार चिया पसलमा जम्मा भएका प्रहरी जवानबीचको यो संवादले नेपाल प्रहरीका आमकर्मचारी के चाहन्छन् ? संगठनको नेतृत्वकर्तामाथि तल्लो दर्जाको अपेक्षा कस्तो हुन्छ ? भन्ने प्रष्ट बुझ्न सकिन्छ । चिया पसलमा आफूहरूबीच निर्धक्क छलफल गरिरहेका ती जवानहरूले सुनाएको निष्कर्षअनुसार नेपाल प्रहरीको तल्लो दर्जाले पहिलोपटक आफूहरूको पीडा बुझ्ने प्रहरी महानिरीक्षक (आइजिपी) पाएको छ ।

‘सबै आइजीले यो गर्छु, त्यो गर्छु भने, निर्देशन नै निर्देशन दिए, २४ घण्टा काम लगाए तर जाने बेलासम्म जवानको हितमा सिन्कोसम्म भाँचेनन् । जवानको पीडा बुझ्ने र समाधान गर्नेमा ध्यान पनि दिएनन्, हेर्दा पनि हेरेनन्,’ ती प्रहरी जवानको संवादको निष्कर्ष थियो, ‘आइजिपी सर्वेन्द्र खनालले प्रहरी जवानको पीडालाई सबैभन्दा पहिला बुझ्ने प्रयास गरेका छन् । २० वर्षसम्म जवानको जवान रहने अवस्थाको अन्त्य गरेका छन् ।

उनीहरूले आइजिपीले सबैभन्दा तल्लो दर्जाको पीडालाई बुझेकै कारण अब सबै जवानहरू नेतृत्वको मिसन सफल पार्ने अभियानमा स्वतः लागिपर्छन् । ‘अब हामीले पनि आइजी सापलाई सफल बनाउन लाग्नुपर्छ, यस्तो आइजिपीलाई असफल हुन दिनुहुन्न,’ ती जावनहरूको अठोट थियो । काठमाडौं परिसरका मात्रै होइन, प्रहरी प्रधान कार्यालय, ललितपुर र भक्तपुरमा कार्यरत जवान पनि यही बुझाइमा छन् ।

उनीहरूको नजरमा २० वर्षपछि पहिलोपटक जवानको पीडा बुझ्ने आइजिपी आएको छ नेपाल प्रहरीमा । ‘नयाँ आइजिपीले सबैभन्दा पहिला जुनियर अधिकृत र जवानतिर हेरे, २० वर्षयता कुनै पनि आइजिपीको पहिलो नजर जवानतिर पर्दै परेन,’ भक्तपुरको सूर्यविनायक चोकमा भेटिएका एक जवानले भने ।

ललितपुर ग्वार्काे, सातदोबाटो, कुपण्डोल, काठमाडौंको बालाजु, महाराजगञ्ज, गौसला, कोटेश्वरमा कार्यरत प्रहरी जवानको पनि उनकै जस्तो अनुभूति थियो । जवानहरू यतिधेरै खुसी हुनुको कारण थियो, आइजिपीले बढुवाको निर्णय नै जवानबाट सुरु गर्नु । सौर्यकर्मीसँग प्रहरी जवानहरूले सुनाएको अनुभूतिअनुसार नेपाल प्रहरीमा जहिलेजहिले नेतृत्व परिवर्तन भयो ।

तल्लो तहका कर्मचारीले अब आफ्नो समस्याको सुनुवाई हुन्छ, स्वाभिमानपूर्वक देशको सेवा गर्न पाइन्छ भन्ने अपेक्षा हुन्थ्यो । तर, २० वर्षयता कहिल्यै ती अपेक्षाहरू पूरा भएनन् । नेतृत्वमा आउनेले निर्देशनको बाढी लगाउने, सबै तहका कर्मचारीलाई समान व्यवहार गर्ने आश्वासन दिन्थे । तर, समस्या समाधान र मनोबल उकास्नेतिर ध्यान दिएनन् । तात्कालीन आइजिपी अच्युतकृष्ण खरेलपछि जो–जो नेतृत्वमा आए, आफ्नालाई काखी च्याप्दै माथिल्लो तहका अधिकृततर्फ मात्रै ध्यान दिए । जवानको समस्या सुन्ने फुर्सत नै पाएनन् । काम पनि गरेनन् ।

पहिलोपटक प्रहरी आइजिपी सर्वेन्द्र खनालले जवानको पीडा बुझेर कदम चाले । प्रहरी जवानसँगै जुनियर अधिकृतको पनि पीडा बुझेर खनालले सुरुआती दिनमै बढुवाको निर्णय लिए । नेपाल प्रहरीमा हाल ७२ हजार ७ सय ३३ जना कर्मचारी रहेका छन् । जसमध्ये प्रहरी जवान मात्रै ४२ हजार २ सय ८५ जना रहेका छन् भने जुनियर अधिकृत (सई–असई) ११ हजार २ सय ६६ जना रहेका छन । जसमध्ये असई ७ हजार २ सय २२ र सई ४ हजार ४४ छन् ।

आइजिपी खनालको सुरुआती निर्णयले दुईतिहाइ भन्दाबढी प्रहरी कर्मचारीमा उत्साह जागेको छ । देशैभरका प्रहरी जवान र जुनियर अधिकृत (असई-सई) को मनोबल पनि उच्च भएको छ । उनीहरूका अनुसार तत्कालीन आइजिपी खरेलले सुरुआती दिनमा प्रहरी जवानको पीडा बुझ्दै समाधानमा ध्यान दिएका थिए । खरेलले नेतृत्व सम्हालेको ३६ दिनसम्म जवान र जुनियर अधिकृतको हितमा काम अघि बढाए । तर, जब पदमा रहिरहन अदालत पुग्नुप¥यो, उनले तल्लो दर्जाका पीडालाई अघि बढाउन सकेनन् ।

त्यही निष्कर्षका आधारमा खरेलले तात्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग भनेका थिए, ‘नेपाल प्रहरीमा एउटा योग्यलाई नेतृत्व दिनोस्, देशभरका सबै प्रहरी आपसेआफ योग्यताको परीक्षामा पास हुन्छन्, अयोग्यको हातमा नेतृत्व गयो भने प्रहरीभित्र रहेका सबै काविल अफिसर पनि अयोग्य सावित हुन्छन् ।’

पूर्वआइजिपी खरेलको भनाइसमेत जवानहरूले उच्चारण गरिरहेका छन् यतिवेला । जवानले सम्झने व्यक्ति पनि नेतृत्वकर्ताको रूपमा खरेल र खनाल मात्रै परेका छन् । ‘अरू आइजीले जवानको पक्षमा कुनै काम गर्नुभएन, काम पनि राम्रो भएन,’ एक जवानले भने, ‘शान्ति सुरक्षा कायम गराउन सबैभन्दा बढी भूमिका हुने जवानमाथि नै नेतृत्वले नहेरे पनि कसरी नेतृत्वको अपेक्षा पूरा हुन्छ र ?’

उनले यसअघि प्रहरी नेतृत्व असफल हुनुमा जवानको मनोबल खस्किनु नै हो । यसपटक भने आइजिपीले सुरुआती दिनमै समस्या बुझेर सबैलाई कामका आधारमा सम्मानको सन्देश दिएको बुझाइ उनीहरूको छ । हाम्रो (प्रहरी जवानको) नजरमा अहिलेलाई सबैभन्दा उत्कृष्ट आइजिपी देखिनुभयो, अब पनि यस्तै भइरहे उहाँले सोचेभन्दा धेरै गुण बढी काम हुन्छ,’ ती जवानले भने । सौर्य दैनिक

सम्बन्धित शिर्षकहरु